भुस्याहा कुकुर नियन्त्रण प्रभावकारी

इनेप्लिज २०७२ फागुन ३ गते २:११ मा प्रकाशित

bhusiya-kukurचितवन, ३ फागुन । चितवनको भरतपुर उपमहानगरपालिका र आसपासका क्षेत्रमा भुस्याहा कुकुरबाट हुने गरेको समस्या समाधान भएर गएको छ ।

हिमालयन एनिमल रेस्क्यु ट्रष्ट नामक संस्थाले जिल्ला पशुसेवा कार्यालय चितवनसँग समन्वय गरेर रेबिज रोग नियन्त्रण मुख्य उद्देश्यसहित कुकुरको बन्ध्याकरण र उपचार थालेपछि भुस्याहा कुकुरको समस्या समाधानतर्फ उन्मुख भएको हो ।

सो संस्थाले एक वर्षअघिदेखि पोखरामा थालेको बन्ध्याकरण अभियानमा हालसम्म दुई हजार ७६३ वटा कुकुरको बन्ध्याकरण गरेको जनाएको छ ।
संस्थाले मनाङ, जुम्ला, सोलुखुम्बु, कैलाली, दोलखा, झापा, सुनसरी, मोरङ, इलामलगायतका जिल्लामा नियमित रुपमा शिविर गरेर कुकुरको बन्ध्याकरणसमेत गर्दै आएको पशु चिकित्सक सञ्जीव पण्डितले बताउनुभयो । उहाँका अनुसार वर्षमा सात÷आठवटा शिविरमार्फत एक हजारभन्दा बढी कुकुरको बन्ध्याकरण र उपचार गरिँदै आएको छ ।

भरतपुरमा मात्रै दैनिक पाँच छवटा कुकुरको बन्ध्याकरण गर्ने गरेको उहाँले बताउनुभयो । बन्ध्याकरणपछि भुस्याहा कुकुरको कानमा प्वाल पारेर छाड्ने गरिन्छ । जसका कारण दोहोरिने समस्या नदेखिने उहाँको भनाइ छ ।

साविक भरतपुर नगरपालिकाका १४ वटा वडामा लिइएको तथ्याङ्कमा पाँच वर्षअघि एक हजार ८३७ भुस्याहा कुकुर रहेकामा हाल पछिल्लो पटक लिइएको तथ्याङ्कमा एक हजार ३०० मा झरेको डा पण्डितले बताउनुभयो ।
छाडा कुकुरमा भन्दा घरमा पालिएका उन्नत जातका कुकुर रेबिज रोगको हिसाबले बढी जोखिम हुने पशु चिकित्सकको भनाइ छ ।
बेलायती दम्पती वारवारा वेभ र जेम पियर्सनको सहयोगमा सो संस्थाले पोखरा र चितवनमा काम गरिरहेको छ ।

प्रतिक्रिया