स्थानीय निकाय निर्वाचनमा सरकारको जोड

इनेप्लिज २०७२ फागुन २ गते ३:३० मा प्रकाशित

हेटौँडा, २ फागुन । सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्टले सरकार र जनताको बीचमा समन्वयकारी भूमिका निर्वाह गर्ने स्थानीय निकायको निर्वाचन गरेर जवाफदेही बनाउन सरकार कटिबद्ध रहेको बताउनुभएको छ ।

उहाँले राप्रपा नेपाल मकवानपुरद्वारा मकवानपुरको इपापञ्चकन्या गाविसमा शनिबार आयोजित पार्टीको कार्यकर्ता भेलाको उद्घाटन गर्दै जिविसले स्थानीय निकायको योजना तर्जुमा गर्दा जिल्लाको भौगोलिक अवस्था र जनतालाई दिगो लाभ पुग्ने योजनालाई छनोट गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा राप्रपा नेपालका केन्द्रीय सदस्य राजाराम बर्तौला र सांसद गणेश थापाले संविधानले सबै नेपालीको बृहत् हितको निम्ति विभिन्न मौलिक हक र अधिकार संरक्षण गरेको उल्लेख गर्नु भयो ।

सहायकमन्त्री विष्टले इपापञ्चकन्या गाविसका २५० जना भूकम्पपीडित परिवारलाई काठमाडौँका समाजसेवी केशव अधिकारी र गणेश रेग्मीले प्रदान गर्नुभएका न्यानो कपडा, कम्बर, स्विटरलगायत अन्य कपडा वितरण गर्नुभएको थियो ।

यसैगरी उहाँले विभिन्न पार्टी परित्याग गरी आएका करिब एकसय जनालाई राप्रपा नेपालको सदस्यता पनि प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया