राजमार्गका रुख गैरकानुनी रुपमा काटियो, सम्बन्धित निकाय बेखबर

इनेप्लिज २०७२ फागुन २ गते ३:२९ मा प्रकाशित

इटहरी, २ फागुन । पूर्वपश्चिम महेन्द्र राजमार्गमा पर्ने मोरङस्थित सुन्दरदुलारी नगरपालिकाको सडकको दायाबायाँ क्षेत्रमा वर्षौं पुराना रुख दिनदहाडै काट्दासमेत सरकारी निकाय बेखबर बनेको पाइएको छ ।

राजमार्गका करिब ८० वर्ष पुराना ठूला रुख धामधम काटेर काठ गायब बनाउँदासमेत वन विभाग, सुन्दरदुलारी नगरपालिका र सडक विभागलाई कुनै जानकारी छैन भन्ने जवाफ बाहिर आउँदा घटना हास्यास्पद बन्न पुगेको छ ।

सरकारी निकायको अनुमतिबिना निर्धक्कसँग केही स्थानीयवासीले मनोमानी ढङ्गले रुख काट्दासमेत हप्तादिनसम्म नियमनकारी निकाय बेखबर हुनुमा गम्भीर आशङ्का उत्पन्न भएको छ ।

सरकारी स्वामित्वमा रहेका पुराना तथा ठूला रुख काट्न वन विभागको अनुमति चाहिन्छ । तर कानुनको खिल्ली उडाउँदै मोरङ जिल्लाको सुन्दरदुलारी नगरपालिकामा काटिएका यी रुख कहाँ छन् कसैलाई पत्तो छ्रैन । सयौँ रुख काटिदा नगरपालिकामा रहेका राजनीतिक दलका विषयमा पनि प्रश्न उठेको छ ।

स्थानीय सुरेशचन्द्र लावरले बाटो साँधुरो र मान्छेको चापसँगै दुर्घटना बढेकाले स्थानीयवासीको सहमतिमा रुख काटिएको बताउनु भयो । दुलारी चोक र बलिया चोकमा रहेका वर, पिपल, सिसौ र कदमका एक दर्जनभन्दा बढी रुख मेसिनको सहायताले दिउँसै काटिएको स्थानीयवासी बताउँछन् । सडक दुर्घटना न्यूनीकरण गर्ने, सडक विस्तार तथा चोकमा बसबिसौनीको निर्माण गर्ने बहानामा काटिएका उक्त रुख लाखौँ मूल्य बराबर रहेको केही स्थानीयवासीले बताए । बलिया चोकमा रहेको चौतारोसमेत ढलाइएको छ । नाम नबताउने सर्तमा एक चिया पसले स्थानीयवासीले भने – “गर्मीका बेला शीलत ताप्ने यही एउटा चौतारो थियो त्यो पनि मासे । अब कहाँ गएर शीतलमा बस्ने होला ?

सेक्टरवन कार्यालय सलकपुरका प्रमुख जनक उपाध्यायले काठ काटिसकेपछि आफूहरु त्यहाँ पुगेको भए पनि रुख काट्न आफूले कुनै अनुमति नदिएको बताउनुभयो । सुन्दरदुलारी नगरपालिकाका कार्यकारी अधिकृत सुवर्ण घिमिरेले सडकको छेउमा रहेका रुख काट्न अनुमतिका लागि पत्र पठाएको, त्यसबारे छलफल गर्न जिल्ला वन कार्यालय मोरङलाई चिठी लेखिएको तर अनुमति नदिएको स्पष्ट पार्नुभयो ।

सडक डिभिजन कार्यालय पूर्वाञ्चलका प्रमुख रामचन्द्र राउतले पनि रुख काट्ने निर्देशन नदिएको बताउनुभयो । उहाँले हामीले निर्देशन दिएरमात्र नहुने भन्दै वन कार्यालय र मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि मात्र रुख काट्न मिल्ने उल्लेख गर्नु भयो ।

हाइवेका दर्जनभन्दा बढी रुख काटिएको भए पनि राजनीतिक दलका प्रतिनिधिहरुले भने आफूहरुले पत्तै नपाएको गैरजिम्मेवार जवाफ दिएका छन् । नेपाली काँग्रेस सुन्दरदुलारी नगरका अध्यक्ष चैतन्य सिटौला र एमालेका नगर अध्यक्ष राजकुमार राईले रुख काटेको बारेमा आफूहरुलाई थाहा नभएको बताउनुभयो ।

प्रतिक्रिया