रातो मन्छेन्द्रनाथसम्बन्धी पुस्तक विमोचन

इनेप्लिज २०७२ फागुन २ गते ३:२६ मा प्रकाशित

काठमाडौँ, २ फागुन । नेपालको सबैभन्दा लामो र लोकप्रिय जात्रा रातो मच्छेन्द्रनाथको रथ जात्रा कहिले सुरु भयो भन्ने बृहद् ऐतिहासिक तथ्य सङ्कलन गरी तयार पारिएको श्री करुणामय (बुँगद्योया) बाखँ नामक महत्वपूर्ण पुस्तक पहिलो पटक देवनागरी लिपिमा प्रकाशन भएको छ ।

आजभन्दा १०२ वर्षअघि बौद्घविद्वान् बुद्घरत्न शाक्यले विभिन्न वंशावली तथा बौद्घग्रन्थका आधारमा नेपाल भाषाअन्तर्गतको प्रचलित लिपिमा लेख्नुभएको थियो । त्यसबेला नेपालमा पुस्तक छाप्ने प्रेस नभएका कारण भारतको कलकत्तामा छपाइ भएको थियो ।

अनुवादक तथा बौद्घविद्वान् ज्योतिरत्न शाक्यले उक्त पुस्तकलाई देवनागरी लिपिमा अनुवाद गर्नुभएको हो । सो पुस्तकको मूल्य रु ७०० तोकिएको छ ।

शाक्य नेवा म्युजियमले शनिबार गरेको एक कार्यक्रममा सुगत बौद्ध महाविहारका प्राचार्य डा शान्तहर्ष बज्राचार्यले सो पुस्तकको विमोचन गर्नुभयो ।

झन्डै १४०० वर्षअघि भक्तपुरका राजा बलदेवको शासनकालमा नेपालमा १२ वर्षसम्म अनावृष्टि भएपछि रातो मच्छिन्द्रनाथको दर्शन गर्न पाउँ भनी सर्पहरुलाई आसन जमाई तपस्या गरी बसेका गोरखनाथलाई आसनबाट उठाउन त्यसबेलाका तान्त्रिक गुरु बन्धुदत्त बज्राचार्यले रातो मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल भित्र्याइएको गोपालराज वंशावलीमा उल्लेख गरिएको छ ।

कलिगत संवत् ३६७६ देखि मच्छिन्द्रनाथको रथ जात्रा सुरु भएको विश्वास गरिएको भए पनि एक हजार ४०० वर्षअघिसम्मको मात्र ऐतिहासिक तथा तथ्यगत प्रमाण रहेको बौद्धविद्वान्हरुले बताएका छन् ।

नेवार समुदायको बाहुल्य भएको काठमाडौँसहित ललितपुर, दोलखा, बनेपाको नालाजस्ता स्थानमा मच्छिन्द्रनाथको मूर्ति स्थापना गरी पूजापाठ हुने र रथ जात्रा भएको पाइन्छ ।

यसअघि पं अमोघबज्र बज्राचार्यले लेख्नुभएको पुस्तकमा १०८ करुणामयको ऐतिहासिक तथ्य तथा वृत्तान्तको व्याख्या गरिएको थियो ।

कार्यक्रममा पुरातत्वविद् डा साफल्य अमात्यले नेपालको सबैभन्दा लोकप्रिय जात्राका रुपमा रहेको मच्छिन्द्रनाथको रथ जात्राको ऐतिहासिक तथ्यसहितको पुस्तकबाट अनुसन्धानकर्ता तथा पाठकका लागि उपयोगी रहेको चर्चा गर्दै विभिन्न जात्रा मनाउने नेवार समुदायको बाहुल्य भएका क्षेत्रहरु काठमाडौँ, ललितपुर, दोलखा तथा बनेपाजस्ता क्षेत्रमा मच्छिन्द्रनाथको मूर्तिको स्थापना, जात्रा मनाउने प्रचलन रहेको जानकारी दिनुभयो ।

प्राचार्य प्रा शान्तहर्ष बज्राचार्यले महाबोधिसत्व, करुणामय आदि नामबाट परिचित मच्छिन्द्रनाथ ललितपुरको बुँग भन्ने स्थानमा रहेकाले रातो मच्छिन्द्रनाथलाई नेवारी भाषामा बुँगद्यो भन्ने गरेको जानकारी दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल भाषा केन्द्रीय विभागका प्रमुख तुल्सीलाल सिंहले रातो मच्छिन्द्रनाथसम्बन्धी ऐतिहासिक पुस्तकबाट त्यसबेलाका ऐतिहासिक तथ्यलाई जनतासमक्ष पु¥याउन सहयोग मिलेको बताउनुभयो ।

प्रतिक्रिया