सभापतिमा लिम्बू र भण्डारीको प्रतिस्पर्धा

इनेप्लिज २०७२ माघ २५ गते ३:३० मा प्रकाशित

पथरी (मोरङ), २५ माघ । नेपाली काँग्रेस मोरङको आज हुने निर्वाचनमा सांसद डिगबहादुर लिम्बू र पूर्व सचिव गोपालमानसिंह राजभण्डारीबीच कडा प्रतिस्पर्धा हुनेभएको छ ।

शनिबार बिहानैदेखि संस्थापन पक्षबाट एउटै उम्मेदवारी तय गर्न पटक पटक भएका छलफल पछि आइतबार साँझ मात्रै सभापतिको दाबी गर्दै आएका अन्य चारजनाले पूर्व सचिव राजभण्डारीलाई उम्मेदवार बनाउने टुङ्गो लगाएका थिए ।

सभापतिको उम्मेदवारीको घोषणा गरेका यदु विष्ट, केदार कार्की, विश्वनाथ रिजाल र मदन सङ्ग्रौलाले उम्मेदवारी फिर्ता लिएपछि संस्थापनबाट राजभण्डारीको उम्मेदवारी पक्का भएको हो ।

त्यस्तै देउवा पक्षबाट एक्ला तर सशक्त उम्मेदवारका रुपमा लिम्बू खडा हुनुभएको छ ।

पुनःनिर्माण गरी स्थानीयवासीलाई हस्तान्तरण

विराटनगरस्थित रोडशेषचोकलाई पुनःनिर्माण गरी स्थानीय समितिलाई हस्तान्तरण गरिएको छ ।

अलपत्र अवस्थामा रहेको रोडशेषचोकस्थित गोलम्बरलाई झन्डै रु पाँच लाखको लागतमा पुनःनिर्माण गरी स्थानीय समितिलाई हस्तान्तरण गरिएको हो ।

उक्त ठाउँमा आइतबार आयोजित कार्यक्रमका बीच मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायाले पुनःनिर्माण र साजसज्जा गरिएको गोलम्बरको शुभारम्भ गर्नुभयो ।

जानकी पोलिट्याङ्क इन्डस्ट्रिजको आर्थिक सहयोगमा रोडशेषचोकको मध्यभागमा रहेको उक्त चोकको गोलम्बरको पुनःनिर्माण गरिनुका साथै गोलम्बर छेउछाउ बगैचा लगाइएको छ ।

यस्तै बेलुकाको समयमा चोकलाई झकिझकाउ बनाउन सोलार प्यानलको स्थापना गरेर विद्युत्भार कटौतीको समयमा समेत बल्ने गरी रङ्गीबिरङ्गी बिजुली बत्तीसमेत लगाइएको छ ।

जानकी पोलिट्याङ्कका सञ्चालक सन्तोष चौधरीले रु पाँच लाखको लागतमा रोडशेषचोकको पुनःनिर्माण गरिएको र आगामी दिनमा अन्य क्षेत्रमा समेत सहयोग जारी राख्ने बताउनुभयो ।

प्रतिक्रिया