नवलपरासीमा लामिछाने र जिसी भिड्दै

इनेप्लिज २०७२ माघ २५ गते २:४३ मा प्रकाशित

परासी, २५ माघ । नेपाली काँग्रेस नवलपरासीमा विष्णु लामिछाने र महेन्द्रध्वज जिसी गरी दुई प्यानलमा चुनावी प्रतिस्पर्धा देखिएको छ ।

लामिछाने देउवा पक्ष र जिसी संस्थापन पक्षका आधिकारिक उम्मेदवार हुन् । जिसीको प्यानलबाट सचिवमा विक्रम यादव र लामिछानेको प्यानलबाट राजेन्द्रकुमार सहानी सचिव पदको उम्मेदवारका रुपमा चुनावी मैदानमा देखिएका छन् ।

छवटा निर्वाचन क्षेत्र रहेको नवलपरासीमा संस्थापन र देउवा पक्षका करिब करिब बराबरी सङ्ख्यामा क्षेत्रीय प्रतिनिधि छन् । उम्मेदवारमध्येका लामिछाने वर्तमान कार्यसमितिका सचिव हुन् ।

प्रेस युनियन नवलपरासीका पूर्व सभापतिसमेत रहेका लामिछानेलाई वर्तमान पार्टी सभापति देवेन्द्रराज कँडेल सांसद विक्रम खनालको समर्थन छ । यता पूर्व जिल्ला सचिव र सांसद भइसकेका जिसीलाई पार्टीका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपालीको समर्थन छ ।

क्षेत्र नं १, २ र ३ मा संस्थापन पक्षको बढी मात्रामा प्रतिनिधि चयन भएको दाबी गरिएको छ भने यता क्षेत्र नं ४, ५ र ६ मा देउवा पक्षका बढी मात्रामा क्षेत्रीय प्रतिनिधि चयन भएको दाबी गरिएको छ । जिल्लामा कुल एक हजार ५० को हाराहारीमा क्षेत्रीय प्रतिनिधि अथवा मतदाता सङ्ख्या रहेका छन् ।

प्रतिक्रिया