नेपालकी पवनकली, न्युयोर्ककी ‘पारालिगल’

इनेप्लिज २०७२ माघ २३ गते १३:१३ मा प्रकाशित

mumpi ghosh 1

अमेरिकामा पत्रकारिता त्यति सहज छैन । नेपालको संचारमाध्यममा काम गरी अमेरिकाको राष्ट्रिय संचारमाध्यम ताक्नु फलामको चिउरा चपाउनु बराबर हो । कान्तिपुर टेलिभिजनमा पवनकलीको नामले चर्चा कमाएकी मम्पी घोष (पवनकली) लाई एकपटक अमेरिका आएर पत्रकारिता गर्छु भन्ने लागेको थियो । तर, समय परिस्थितिले उनलाई अहिले पारालिगल बनाईदिएको छ । केही समय अघि मात्र उनले न्युयोर्क क्यारिएर इन्सीट्युट बाट पारालिगल उत्तिर्ण गरेकी छिन् । यो परिक्षामा सफलतासंगै नेपालमा पत्रकारिता गरी चर्चा कमाएकी पवनकली अमेरिकामा पारालिगल गर्ने पहिलो संचारकर्मी पनि भएकी छिन् ।

वकिलको सहयोगीको रुपमा काम गर्ने अमेरिकाको सर्टिफाईट पारालिगले राम्रै दाम कमाउछ । सन् २०१५ को डाटा अनुसार अमेरिकामा पारालिगलको कम्तीमा पनि बार्षिक तलब ४७ हजार ५७० डलर देखि ५४ हजार ९९० डलरसम्म हुन्छ । नेपालमा ख्यातीको शिखरमा रहेकै अबस्थामा सन् २०१० मा अमेरिका आएकी मम्पीलाई सुरुका दिन त्यती सहज भएन । धेरै पटक नेपाल फर्कन पनि मन लाग्यो । तर, मेहनत पछि नपर्ने मम्पीलाई समय र भाग्यले साथ दिएको कारण आज न्युयोर्कको एउटा प्रतिष्ठित भट्ट ल फर्ममा पारालिगलको रुपमा काम गर्दै छिन् ।

टेलिभिजनमा देखिने त्यो अनुहारलाई ब्यक्तिगत चाहना भन्दा पनि परिवारको दायित्वले अमेरिकासम्म पुर्यायो । भाई, बहिनीलाई पढाउनु पर्ने र बुवा आमालाई हेर्नुपर्ने दायित्वका बीच आफूले अमेरिका रोजेको मम्पी बताउछिन् । उनलाई अमेरिका आएकोमा कुनै पश्च्याताप पनि छैन । अमेरिकाले आफूलाई धेरै कुरा सिकाएको मम्पी भन्छिन् ।

पत्रकारिता अध्ययन गरी अमेरिकाको सीएनएन र एबीसी टेलिभिजनमा काम गर्ने इच्छा भएपनि अमेरिका आएपछि आफूलाई कानून विषयमा रुची बढेको मम्पी भन्छिन् । भट्ट ल मर्फमा काम सुरु गरेपछि छोटो समय अध्ययन गरी धेरै प्रतिफल दिने यो विषयको महत्व बुझेको जनाउदैँ मम्पी भन्छिन्– “ मेरो संचारमाध्यमको मोह अझ मरेको छैन । अमेरिकामा फेरी थप पत्रकारिता विषय अध्ययन गर्ने जागर चलिरहेको छ । ”

‘ सपनाको सहर अमेरिका अबसरले भरिपूर्ण देश हो । अमेरिकामा पढ्छु भन्ने ब्यक्तिले जुनसुकै विषय पनि पढ्न पाउछ’, मम्पी भन्छिन् ( “तपाईले अमेरिका आएर डाक्टर, इन्जिनियर, पाइलट, वकिल, पत्रकारिता जे विषय पनि पढ्न सक्नुहुन्छ । मात्र घैर्यता र लगनसीलता चाहिन्छ । ”

मम्पी अहिले काम र पढाईसंगै मोडलिङमा पनि उत्तिकै ब्यस्त छिन् । मम्पीले न्युर्योकमा विज्ञापनमा पनि मोडलको रुपमा काम गरेकी छिन् । भर्खरै मात्र उनले बंगलादेशको ब्यबसायिक मनी टान्सफर प्लासीड डट नेटमा मोडलिङ गरेकी छिन् । बंगाली भाषामा समेत राम्रो दखल राख्ने मम्पीले सो विज्ञापनमा आवाज पनि दिएकी छिन् ।

mumpi ghosh 2

नेपालबाट पहिलो पटक विश्वको सबैभन्दा सक्तिशाली देश अमेरिका आउने जोकोहीलाई सहज हुदैन । खान, बोल्न, हिड्न, लाउन हरेक कुरा सिक्नुर्छ । सुरुका दिनमा पवनकलीलाई पनि निकै कठिन भयो । अमेरिकाको महंगो शहर न्युयोर्कमा बसोवास । कामसंगै पढाईलाई निरन्तरता दिन त्यति सहज थिएन । तर, अमेरिकामा नपढीकन काम राम्रो पाइदैन भन्ने कुरा पवनकलीले राम्ररी बुझेकी थिइन् । ल फर्ममा काम गरेपछि मम्पीलाई थप केही गर्ने चाहना बढ्यो । त्यसैले आफ्नो कामबाट बचेको समय मम्पीले अध्ययनमा खर्र्च गर्न थालिन् । काम र अध्ययनलाई संगसंगै लैजान निकै कठिन भएपनि उनले समयलाई उचित ब्यबस्थापन गरिन् ।

नेपालबाट अमेरिका आउदा मम्पीका सघर्षका कथा निकै लामो छ । बंगलादेशमा हिसांका भड्कीएपछि मम्पीका परिवार बंगलादेशबाट भारत हुदै नेपाल आएका थिए । मम्पीलाई हुर्काउन उनका परिवारले निकै सघर्ष गरेको उनी भन्छिन्् । आफू अमेरिकामा भएपनि परिवारका सदस्य खुसी देख्दा आनन्द आउने मम्पी बताउछिन् । काठमाडौं आएपछि गाउँमा रहेका आमा, बुवाले आफ्नो आवाज सुनोस् र अनुहार देखोस् भन्नका लागि सुरुका दिनमा मम्पीलाई टेलिभिजन र रेडियोमा रुची बढ्यो । मम्पीले रेडियो नेपाल र हिट्स एफएममा पनि काम गरिन् ।

तर उनलाई पवनकलीको नामले चर्चाको शिखरमा भने कान्तिपुर टेलिजिनले पु्र्यो । यसको श्रेय भने मम्पी टेलिभिजन प्रस्तोता एवं निर्देशक भुषण दाहाललाई दिन्छिन् । ‘ मैले नेपालीमा दिएको प्रस्तुतीबाट प्रभावित भएर भूषण सरले अवसर दिनुभयो’, मम्पी भन्छिन् ।

सन् २०१० मा एउटा कार्यक्रममा सहभागिता जनाउन अमेरिका आएपछि समयको मागर र परिस्थितिले होमिएकी मम्पी अमेरिकाको नेपाली समाजिक संघ सस्थाको कार्यक्रममा पनि निकै सक्रियताका साथ सहभागिता जनाउछिन् । अमेरिकामा नेपालमाजस्तो बन्द, हड्ताल र भनसुनका नचल्ने जनाउदै सघर्ष गरे आनुसार प्रतिफल र आत्मसन्तुष्टि पाइने मम्पी बताउछिन् ।

पवनकलीले अमेरिकामा कमाएको रकम भाई र बहिनीको उच्च शिक्षामा पनि खर्च गरिरहेकी छिन् । अमेरिकामा हुने फेसन शोमा पनि धेरै पटक सहभागिता जनाइसकेकी मम्पी झलक्क हेर्दा निकै मोर्डन देखिएपनि परिवारिक रुपमा भने आफू निकै ब्यबहारिक भएको बताउछिन् । केही परिवारिक दायित्व, उदेश्य र लक्ष्यको कारण विवाहको लागि समय निकाल्न नसकेको जनाउदैँ हल्का मुस्कानका साथ मम्पी भन्छिन्, “म सिंगल छु, अब भने उचित वर पाएमा डबल हुन्छु । ”

प्रतिक्रिया