स्वास्थ्य चौकीमा गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि

इनेप्लिज २०७२ माघ १८ गते ६:१३ मा प्रकाशित

abortionकञ्चनपुर, १८ माघ । कञ्चनपुरको बेदकोटनगरपालिकास्थित दैजीमा स्वास्थ्य चौकीमा अनिच्छित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

स्वास्थ्य चौकीमा मासिक रूपमा पाँचदेखि आठजनासम्म महिलाले गर्भपतन गराउँदै आएका छन् । गर्भपतन सेवा लिनेमा अधिकांश १८ देखि ३५ वर्षसम्मका विवाहित र अविवाहित महिला रहेको स्वास्थ्य चौकीका प्रमुख सिद्धराज भट्टले बताउनुभयो । गर्भपतन सेवा दिनका लागि स्वास्थ्य चौकीमा दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापछि अनिच्छित रूपमा गर्भ रहेका महिला पुग्ने गरेको उहाँले उल्लेख गर्नु भयो ।

गर्भपतन सेवा सुरु भएको दुई वर्षको अवधिमै सय बढी महिलालाई सो सेवा उपलब्ध गराएका छौँ उहाँले भन्नुभयो – “गर्भपतन सेवा सुरु भएपछि मातृमृत्यु दर र महिलामा देखिने बाँझोपनको समस्यामा कमी आएको छ ।”

गर्भवती महिलाको मञ्जुरीमा नौ हप्तासम्मको गर्भपतन गराउन सक्ने व्यवस्था गरिएको छ । असुरक्षित तरिकाले महिलाले समाजमा बेइज्जत हुने डरले भारतीय निजी क्लिनिकमा गर्भपतन गराउँदा ज्यान नै जाने समस्या रहेको थियो स्वास्थ्य चौकीका प्रमुख भट्टले भन्नुभयो – “असुरक्षित तरिकाले गर्भपतन गराउँदा बढी रक्तस्राव हुने, ज्वरो आउने बेहोस हुने, पाठेघरमा सङ्क्रमण हुने र महिलाको ज्यानै जाने समस्या स्वास्थ्य चौकीमै सुरक्षित गर्भपतन सेवाले हटाएको छ ।”

कञ्चनपुरका अधिकांश स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेवा उपलब्ध गराइएको छ । जनस्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार सुरक्षित गर्भपतन सेवा प्रक्रिया २०६० अनुसार १२ हप्तासम्मको गर्भवती महिलाको मञ्जुरीमा पतन गर्न कानुनले मञ्जुरी दिएको छ । जबर्जस्ती करणी, हाडनाता भएको अवस्थामा १८ हप्तासम्मको गर्भपतन गराउन सकिने हुन्छ ।

लिङ्ग गहिचान गरेर, गर्भवती महिलाको सहमतिबिना र १२ हप्तामाथिको गर्भपतन गराउन कानुनले बन्देज लगाएको छ । गर्भवती महिलाको ज्यानै जाने अवस्थामा विशेषज्ञ र अनुमति प्राप्त चिकित्सकले मात्रै १८ हप्तासम्मको गर्भपतन गराउने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया