सञ्चार उद्यमी ढुङ्गेल पक्राउ

इनेप्लिज २०७२ माघ १८ गते ६:०१ मा प्रकाशित

charchit-dhungelसुरुङ्गा (झापा), १८ माघ । झापाबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार भएका सञ्चार उद्यमी चर्चित ढुङ्गेल भनिने चन्द्रप्रसाद ढुङ्गेल सुनसरीको इटहरीबाट पक्राउ परेका छन् ।

दुवागढी–४ चारआलीमा शुभलारी मिडिया प्रालिद्वारा सञ्चालित ग्लोवल एफएम ९५.४ मेघाहर्जका सञ्चालक ढुङ्गेल गत जेठबाट फरार भएका थिए । उनले रोजगारी दिने बहानामा युवालाई जागिर दिने सम्झौता गरी रु २० हजारदेखि रु एक लाखसम्म सातजनाबाट ठगी गरेको भन्दै उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय, झापा र इलाका प्रहरी कार्यालय दमकमा उजुरी परेको थियो ।

उजुरी परेलगत्तै प्रहरीले उनलाई इटहरीबाट पक्राउ गरेको इप्रका इटहरीका प्रहरी नायब उपरीक्षक ओम अधिकारीले जानकारी दिनुभयो । उहाँले झापाको दमक प्रहरीमा ठगी गरेको उजुरी परेको आधारमा ढुङ्गेललाई पक्राउ गरिएको बताउनुभयो । पक्राउ परेका ढुङ्गेललाई आइतबार साँझ दमक प्रहरीकै जिम्मा लगाइएको बताइएको छ ।

झापासहित मेची अञ्चलका २० जनाभन्दा बढीबाट लाखौँ रुपैयाँ ठगी गरेका उनले इटहरीमा पनि ठगी गरेको उनीमाथि आरोप छ ।
लाइभ रेडियो नेटवर्क प्रालिको नाममा ढुङ्गेलले एफएममा जागिर खान चाहनेसँग धरौटी उठाएर दमकमा पनि उनले ठगी गरेको उजुरी परेको बताइएको छ । ढुङ्गेलले पछिल्लो समय इटहरीको एक एफएममा वार्षिक रु पाँच लाख तिर्ने गरी लिखित सम्झौता गरेर तालिम सञ्चालन गर्न थालेका थिए ।

प्रतिक्रिया