पाल्पा, १७ माघ । पाल्पाको जिल्ला सदरमुकाम तानसेनस्थित बहुउद्देश्यीय पाल्पा दरबार सङ्ग्रहालयले ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका सामग्रीको जोहो गर्न थालेको छ ।
ऐतिहासिक तथा पुरातात्विक हिसाबले महत्वपूर्ण सरकारी, गैरसरकारी कार्यालय तथा गुठी संस्था र व्यक्तिगत रुपमा रहेको सङ्ग्रहणीय सामग्री जोसुकैले पनि सङ्ग्रहालयमा उपलब्ध गराउन सकिने व्यवस्था गरेको छ ।
एक सय वर्ष पुराना पुरातात्विक महत्वपूर्ण सामग्री व्यक्ति, सङ्घ संस्थाले सङ्ग्रहालयमा उपलब्ध गराउन पाल्पा दरबार सङ्ग्रहालयका प्रमुख विष्णु खनालले आग्रह गर्नु भयो ।
बहुउद्देश्यीय सङ्ग्रहालयमा सबै जातजातिको रहनसहन भेषभूषा तथा कला संस्कृति झल्कने सामग्री उपलब्ध गराई सङ्ग्रहालय सञ्चालनमा सहयोग गर्न सकिने छ ।
सङ्ग्रहालयमा राणाकालीन पाल्पा राज्यको नक्सा र फोटो, कला संस्कृति, रहनसहन तथा सांस्कृतिक सम्पदा, राप्ती र लुम्बिनी अञ्चलभित्रका पुरातात्विक तथा ऐतिहासिक सम्पदाको सङ्ग्रह गरिने छ ।
राणाकालीन समयमा निर्माण भएको पाल्पा दरबार २०६२ माघ १८ गते माओवादी आक्रमणबाट ध्वस्त भएको दरबार पुनःनिर्माण भई सङ्ग्रहालयका रुपमा बदलिएपछि यस दरबार पर्यटक आकर्षणको गन्तव्य बनेको छ ।
विसं २०६४ असार ३१ देखि निर्माण कार्य थालेर २०७० भदौ २० गते निर्माण काम सम्पन्न भए पनि सङ्ग्रहालय निर्माण भएको दरबारलाई सङ्ग्रहालय बनाउने निर्णय गरेपछि पाल्पा दरबारको महत्व बढेको हो ।
प्रतिक्रिया