आन्दोलनलाई खुकुलो पारेपछि तराईका जनजीवन सहज

इनेप्लिज २०७२ माघ १६ गते ४:०९ मा प्रकाशित

वीरगन्ज, १६ माघ । आन्दोलनरत मधेस केन्द्रित दलले आन्दोलनलाई केही खुकुलो पारेपछि मध्य तराईका जनजीवन अहिले सहज भएको छ ।

जनजीवन सहज हुन थालेपछि मध्य तराईका बारा, पर्सा र रौतहटका सर्वसाधारणलाई राहत भएको छ । विगत साढे पाँच महिनादेखिको निरन्तर बन्द, हडताल र नाकाजामका कारण यस क्षेत्रका जनजीवन त्रसित बनेको थियो ।

आन्दोलनरत मधेस केन्द्रित दलका कार्यकर्ताले जिल्लास्तरमा उद्योग, कलकारखाना, शैक्षिक संस्था, यातायात र बजार सञ्चालन गर्न दिएपछि स्थिति सहज भएको हो ।

बाराका सदरमुकाम कलैया, पर्साको वीरगन्ज र रौतहटको गौर बजारमा सर्वसाधारणको भीडभाड बढ्न थालेको छ । मुख्य बजारमा बिहानैदेखि पसल निर्बाध खुल्न थालेका छन् ।

सदरमुकाम कलैया, वीरगन्ज र गौरबाट अहिले लामो तथा छोटो दूरीका सवारीसाधन चल्न थालेका छन् । यसअघि काठमाडाँै, पोखरा, विराटनगरलगायतका सहरमा आउन जानका लागि बाराको सिमरा र रौतहट चन्द्रनिगाहपुर पुग्नुपर्ने बाध्यता थियो ।

मानवीय समवेदनालाई ध्यानमा राखी नाका अवरुद्ध गर्नेबाहेक उद्योग, कलकारखाना, शैक्षिक संस्था, यातायात र बजार सञ्चालन गर्न दिने मौखिक सहमति दिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक स्थानीय नेताले बताए ।

तर औपचारिक रुपमा आन्दोलन फिर्ता नलिएकाले व्यवसायीले सुरक्षित महसुस भने गर्न सकेका छैनन् । स्थानीय व्यवसायीका अनुसार वीरगन्ज रक्सौल नाका बन्द हुँदा अन्य नाकाबाट आएका सामानको ढुवानी लागत बढी परेको छ ।

लागतअनुसारको मूल्य नपाउँदा व्यवसाय सङ्कटमा पर्न थालेकाले यो भन्सार नाका सुचारु गर्नका लागि सरकार र आन्दोलन दुवै पक्षसँग व्यवसायीले माग गरेको छ ।

गत शनिबार संविधानमा भएको संशोधनले केही माग सम्बोधन गरिसकेकाले बाँकी अन्य मागको हकमा वार्ता र संवादमार्फत सम्बोधन गराउनका लागि स्थानीय बुद्धिजीवीले सरकार र आन्दोलनकारी दुवै पक्षसँग आग्रह गरेको छ ।

प्रतिक्रिया