परासी, १३ माघ । नेपालमा गत वैशाखमा गएको भूकम्पबाट घरपरिवारविहीन बनेका बालबालिकाको आवास निर्माणार्थ सहयोगका लागि नवलपरासीमा करिब रु ३६ लाख सङ्कलन भएको छ ।
कावासोतीको खुल्ला मैदानमा गत माघ १ देखि १२ गतेसम्म चलेको माघ मेला धार्मिक यज्ञ महोत्सवमा विभिन्न व्यक्तिबाट सो रकम सहयोगस्वरुप सङ्कलन भएको हो । सङ्कलित रकम देवघाटधाममा असहाय बालबालिकाका लागि आवास निर्माणमा खर्च गरिने यज्ञ सम्पादन मूल आयोजक समितिका संयोजक देवीप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
विश्व जागरण महाअभियान ट्रस्टको आयोजनामा भएको यज्ञमा विश्वविख्यात कथावाचक बालब्यास विभूति ईश्वर कृष्णजी महाराजले कथावाचन गर्नुभएको थियो । यज्ञमा ११ लाख तिलको लड्डु गणेश भगवान्लाई अर्पण गर्नुका साथै हिन्दुधर्मको प्रचारात्मक र आध्यात्मिक पक्षबारे सचेतना फैलाउने उद्देश्यसहित यज्ञको आयोजना गरिएको हो ।
प्रतिक्रिया