धौलागिरिमा विद्युत्भार कटौती नगर्न व्यवसायीको माग

इनेप्लिज २०७२ माघ १३ गते ३:१९ मा प्रकाशित

फलेवास (पर्वत), १३ माघ । पटकपटक भइरहेको अघोषित विद्युत्भार कटौतीका कारण व्यापार–व्यवसाय चौपट बनेको भन्दै धौलागिरिमा विद्युत्भार कटौती नगर्न व्यवसायीले माग गरेका छन् ।

पर्वत सदरमुकाम कुश्माबजारमा मङ्गलबार सम्पन्न तीन जिल्लाका व्यवसायी र विद्युत् प्राधिकरणका प्रमुख तथा मोदीखोला जलविद्युत् केन्द्रका प्रमुख बीचकोे भेलामा व्यवसायीले अघोषित रुपमा विद्युत्को कटौती नगर्न र यदि गर्नै परेमा निश्चित समयावधि तोकेर गर्न आग्रह गरेका छन् । पटकपटक हुने विद्युत् कटौतीले भूकम्प र नाकाबन्दीले थलिएको व्यापार–व्यवसाय र उद्योगधन्दा झनै धरासायी बन्दै गएकाले धौलागिरि अञ्चलभित्र विद्युत्भार कटौती नगर्न उनीहरुले माग गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका धौलागिरि अञ्चल प्रतिनिधि निर्माणकुमार श्रेष्ठले धेरै समय जाने लाइनका कारण व्यापार–व्यवसाय तथा उद्योग नै बन्द गर्नुपर्ने अवस्था रहेको भन्दै धौलागिरि अञ्चलभित्र उत्पादित विद्युत्लाई स्थानीयस्तरमै प्राथमिकता दिन आग्रह गर्नुभयो ।

पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछाने, बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष जयराम भारी र म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवनकुमार विश्वकर्मा र पूर्वअध्यक्ष कुवीरकुमार श्रेष्ठले विगत केही समयदेखि अस्वाभाविक रुपमा लाइन जाने–आउने भइरहेको भन्दै यस्तो समस्या तत्काल समाधान गर्न आग्रह गर्नुभयो । पटकपटक लाइन जाँदा फर्निचर, इँट्टा, ब्लक, दुग्ध डेरी, चाउमिन, राइसमिललगायत उद्योग चौपट बनेको व्यवसायीको गुनासो छ ।

सो अवसरमा मोदीखोला जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले मोदीखोलामा पानीको बहाव कम हुँदा विद्युत्भार कटौती गर्नुपरेको बताउनुभयो । उहाँले अहिले मोदीखोला जलविद्युत् केन्द्रमा जम्मा ६ र तल्लो मोदीखोलामा तीन गरी जम्मा नौ मेगावाट मात्र उत्पादन भइरहेको तर साँझ र बिहानको समयमा १३ मेघावाटभन्दा बढी विद्युत् खपत हुने भएकाले विद्युत्भार कटौती गर्नुपर्ने अवस्था रहेको हो भन्नुभयो ।

उहाँले केन्द्रीय भार प्रेषण केन्द्रले विद्युत् सन्तुलन मिलाउनका लागि लाइन कटौती गर्ने भएकाले पनि निश्चित समयमा नभई जुनसुकै बेला पनि विद्युत् कटौती हुने गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया