ऐतिहासिक थन्थाप मन्दिर जीर्ण

इनेप्लिज २०७२ माघ १० गते ५:५८ मा प्रकाशित

बागलुङ, १० माघ । सर्कुवा–५ स्थित ऐतिहासिक महत्वको थन्थाप भगवतीदेवी मन्दिर संरक्षण अभावमा जीर्ण बनेको छ ।

मर्मत सुधार तथा प्रचारप्रसार नहुँदा जिल्लाकै पुरानो मन्दिर अस्तित्व सङ्कटमा परेको हो । विस १८६५ मा बनेको मन्दिर गुठी संस्थानअन्तर्गत रहेपनि सरकारको ध्यान पुग्न सकेको छैन ।

बर्सेनि पूजाआजा ठेक्काबापतको रकम मालपोत कार्यालयले बुझ्ने गरेपनि मन्दिर संरक्षण विकासलाई बेवास्ता गरिएको छ । दुई वर्षअघि मन्दिर संरक्षण तथा व्यवस्थापन समिति बनेपनि स्रोतसाधन, बजेट अभावमा कुनै काम गर्न नसकेको समितिका अध्यक्ष भद्रबहादुर थापाले बताउनुभयो ।

हालसम्म मन्दिरलाई पर्यटन मन्त्रालयबाट रु दुई लाख छुट्टिनु बाहेक कुनै आर्थिक सहायता प्राप्त नभएको अध्यक्ष थापाको भनाइ छ । गत वैशाखको भूकम्पले मन्दिरको एउटा प्रवेशद्वार ढलाएको छ ।

मन्दिरको विकास र संरक्षणमा कुनै चासो नदेखाउनु दुर्भाग्यपूर्ण रहेको समितिका सचिव मोहराज पाध्याले बताउनुभयो ।

‘‘मन्दिरभित्र रहेका बहुमूल्य धातुका सामान, खुँडा, खुकुरी, घण्टी हराएका छन्’’ सचिव पाध्याले भन्नुभयो ‘‘बस्तीदेखिमाथि डाँडामा रहेको मन्दिरको उचित संरक्षण हुन सकेको छैन ।’’

समितिले मन्दिर क्षेत्रमा संरचना निर्माण गर्न, खानेपानी, विद्युत् जस्ता सुविधा पु¥याउन गाविस परिषद् र इलाका गोष्ठीमा समेत माग गरेको छ ।
मन्दिरको पूजाआजा चलाउन वार्षिक रु पचास हजारमा ठेक्का दिने गरिएको छ ।
हरेक मङ्लबार विशेष पूजाआजा हुने मन्दिरमा बडादसैँं र चैते दसैँंमा ठूलो मेला लाग्ने गरेको छ । आफ्नो मनोकांक्षा पूरा हुने विश्वासमा भाकल राख्न, बलि दिन र पूजाको लागि देशका विभिन्न भागबाट भक्तजन आउने गरेका छन् ।

प्रतिक्रिया