शिक्षकलाई शोषण आरोप

इनेप्लिज २०७२ माघ १० गते ५:५६ मा प्रकाशित

जनकपुरधाम १० माघ । धनुषा जिल्लाका निजी विद्यालयमा कार्यरत शिक्षकले सञ्चालकले विद्यालयलाई कमाउने थलोका रुपमा परिणत गरेको आरोप लगाएका छन् ।

निजी विद्यालय शिक्षक सङ्गठनद्वारा आज आयोजित क्षेत्रीय भेलामा सहभागी शिक्षकले विद्यालयमा कार्यरत शिक्षकलाई नियुक्तिपत्र नदिइएको, आर्थिक अवस्था सुधारको कुनै योजना नभएको, बन्द अवधिको तलब नपाएको भनी सञ्चालकलाई ध्यान आकृष्ट गराउँदा कुनै पहल नभएको धारणा राखे ।

भेलाले निजी विद्यालयका शिक्षकका लागि शिक्षा आयोगमा उमेरको हकबन्दी हटाउनुपर्ने, आयोगमा अस्थायी शिक्षक सरह काम गरेका आधारमा मूल्याङ्कन गर्नुपर्ने र निजी विद्यालय शिक्षकको हकमा आयोगमा दरबन्दीे सुनिश्चित हुनुपर्ने माग पनि अघि सारेको छ ।

त्यस्तै शिक्षकलाई बिनाकारण हटाउन नपाइने, शिक्षा दिवसका अवसरमा प्रदान गरिने राष्ट्रिय पुरस्कारमा समान अधिकार पाउनुपर्ने तथा शिक्षा कार्यालयबाट हुने तालिममा सहभागिता, छोराछोरीलाई निःशुल्क व्यवस्था, सञ्चय कोषको व्यवस्थाको माग पनि शिक्षकले गरेका छन् ।

सङ्घका अध्यक्ष व्रजकिशोर यादवको सभापतित्वमा भएको भेलामा प्रावि, निमावि र मावि तहको तलब निश्चित गर्नुपर्ने माग पनि गरिएको थियो ।

प्रतिक्रिया