भूकम्पपीडितलाई सहयोग

इनेप्लिज २०७२ माघ ६ गते २:५२ मा प्रकाशित

काठमाडौँ, ६ माघ । भूकम्पले घरबार गुमाई कष्टपूर्ण जीवन बिताइरहेका सिन्धुपाल्चोकका भूकम्पपीडितलाई ‘मिसेस नेपाल इन्टरनेसनल–२०१५’का उपाधि विजेता तथा प्रतियोगीले मङ्गलबार सहयोग गरेका छन् ।

सिन्धुपाल्चोक मर्मिङ–५ स्थित टहरामा गुजारा चलाइरहेका भूकम्पपीडित जाडोबाट थप पीडित भएपछि उनीहरुलाई हालै टहरामै पुगेर अत्यावश्यक सामग्री वितरण गरिएको हो । उपाधि विजेता तथा प्रतियोगी उषा लिम्बू विजेता श्रेष्ठ, स्मिता पाण्डे,
प्रतिमा केसी, सरिता भुजू श्रेष्ठ, सरला श्रेष्ठ, मीरा मानन्धर, परिकल्पना राईलगायतले सो स्थानका ८० दलित परिवारलाई विभिन्न खाद्य सामग्रीसँगै कम्बल, सिरक, डसना, पन्जा र टोपी उपलब्ध गराएका हुन् ।

मुस्किलले ठूला सवारी साधन पुग्ने सो स्थानमा गई सहयोगको हात बढाएर
उनीहरुले उदाहरणीय काम गरेको रिवन इन्टरटेन्मेन्टका अध्यक्ष निशु झाले बताउनुभयो । व्यक्तिगत रकम खर्च गरेर पीडितसम्म पुगेका उनीहरुको अब सर्लाहीको कविलासीका मुसहर समुदायलाई सहयोग गर्ने लक्ष्य रहेको छ ।

‘मिसेस नेपाल इन्टरनेसनल’ प्रतियोगता ‘रिवन इन्टरटेनमेन्ट’द्वारा गत असोजमा राजधानीमा आयोजना गरिएको थियो ।

प्रतिक्रिया