पाँच महिनापछि बल्ल आइपुुगे एम्बुलेन्स

इनेप्लिज २०७२ माघ ४ गते १३:२३ मा प्रकाशित

ambulanceकाठमाडौँ, ४ माघ । लामो समयदेखिको तराई आन्दोलन र भारतले गरेको अघोषित नाकाबन्दीका कारण नेपालको आमा सुरक्षा कार्यक्रमका लागि खरिद गरिएका २५ वटा एम्बुलेन्स पाँच महिनापछि नेपाल आइपुगेका छन् ।

वीरगञ्ज नाकामा पाँच महिना रोकिएर पाँच दिनअघिमात्र नेपाल आइपुगेका एम्बुलेन्स वीरगञ्जबाट ल्याउने प्रयास असफल भएपछि एम्बुलेन्स ल्याउने जिम्मा पाएको सिप्रदी टाटा मोटर्सले रिलोड गरी सुनौली नाकाबाट एम्बुलेन्स नेपाल ल्याएको हो ।

सिप्रदी टाटा मोटर्सका प्रबन्धक प्रविण खतिवडाले वीरगञ्जबाट ल्याउने प्रयासमा लामो समय बितेको र नसकेपछि रिलोड गरी भैरहवा नाकाबाट एम्बुलेन्स ल्याएको बताउनुभयो । उहाँले चाँडै नै स्वास्थ्य विभागलाई हस्तान्तरण गरिने पनि जानकारी दिनुभयो ।

आपूर्ति व्यवस्था महाशाखाका निर्देशक भीमसेन तिंकरीले परिवार स्वास्थ्य महाशाखाको मागमा २५ जिल्लाका स्वास्थ्य केन्द्रका लागि ती एम्बुलेन्स खरिद गरिएको बताउनुभयो ।

रु छ करोड मूल्यमा खरिद गरिएका २५ वटा एम्बुलेन्स विभिन्न हिमाली तथा पहाडी जिल्ला अस्पतालमा आमासुरक्षा कार्यक्रमका लागि खरिद गरी ल्याउन लागिएकाले त्यसका लागि निकै ढिला भइरहेको छ ।

परिवार स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक ओम खनालले गर्भवती महिलालाई स्वास्थ्यसंस्थामा आई स्वास्थ्यकर्मीको निगरानीमा सुत्केरी हुन प्रेरित गर्न यातायातको व्यवस्था गर्न एम्बुलेन्सको सुविधा प्रदान गर्न लागिएको बताउनुभयो ।

खरिद गरिएका ती एम्बुलेन्स जिल्ला अस्पतालहरु सिन्धुली, म्याग्दी, बैतडी, बाजुरा, ओखलढुङ्गा, मुस्ताङ, रुकुम, जाजरकोट, अछाम, दार्चुला, ताप्लेजुङ, खोटाङ, रामेछाप, सङ्खुवासभा, कालीकोट, गुल्मी, र तेह्रथुमलाई वितरण गरिनेछ ।

यसैगरी ती एम्बुलेन्स शिकुवा प्राथमिक स्वास्थ्य केन्द्र कास्की, पश्चिमाञ्चल स्वास्थ्य केन्द्र पोखरा, दुल्लु अस्पताल दैलेख, हेडौँडा अस्पताल मकवानपुर, लुङ्खु प्राथमिक स्वास्थ्य केन्द्र पर्वत, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र बागलुङ र चरिकोट अस्पताल दोलखालाई पनि प्रदान गरिनेछ ।

ती एम्बुलेन्स वितरणपछि स्वास्थ्य संस्थामा गई सुत्केरी हुने सङ्ख्यामा वृद्धि भई अकालमा गर्भवती, सुत्केरी महिला र नवजात शिशुको उपचारमा ढिलाइ भई मृत्युहुने अवस्थामा कमी आउने विश्वास जनस्वास्थ्य निरीक्षक खनालले व्यक्त गर्नुभयो ।

अहिले नेपालका ७५ वटै जिल्लामा आमा सुरक्षा कार्यक्रम सञ्चालित छ । सो कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा आई सुरक्षित सुत्केरी हुने महिलालाई यातायात खर्च पनि नेपाल सरकारले उपलब्ध गराउने गरेको छ जसअन्तर्गत हिमाली क्षेत्रका गर्भवती महिलालाई रु एक हजार ५००, पहाडी जिल्लाका गर्भवती महिलालाई रु एक हजार र तराईका गर्भवती महिलालाई स्वास्थ्य संस्थामा आई सुत्केरी हुँदा यातायात खर्चस्वरुप रु ५०० दिने गरिएको छ ।

प्रतिक्रिया