पक्की पुल निर्माण सुरु

इनेप्लिज २०७२ माघ ३ गते ५:५४ मा प्रकाशित

कञ्चनपुर, ३ माघ । झलारी पिपलाडी नगरपालिकाको टोटी खोलामा रु तीन करोड ५३ लाख ९६२ को लागतमा पक्की पुल निर्माण सुरु गरिएको छ ।

नगरपालिकाका वडा नं ९ र १० जोड्ने पुल जिविस, कञ्चनपुरको स्थानीयस्तरका सडक पुल कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको हो । पुलको अनुमानित लागत रु चार करोड ३४ लाख ६४१ रहे पनि नागार्जुन वाइआर मित्र जेभीसँग रु तीन करोड ५३ लाख ९६२ मा ठेक्का सम्झौता गरिएको छ । पुलको लम्माइ ३५ मि, चौडाइ ५ दशमलव ४५ मि रहने जिल्ला प्राविधिक कार्यालयका मुख्य इन्जिनियर कमलकुमार अधिकारीले बताउनुभयो ।

पुल पाइलफाउन्डेस प्रविधिमा आधारित भएर निर्माण गरिने इन्जिनियर अधिकारीले भन्नुभयो – “यस प्रविधिको अधिक बालुवा भएका ठाउँमा प्रयोग गरिन्छ ।” उहाँका अनुसार यसअघि यस्तो प्रविधि वैशाखा खोलामा निर्माण भइरहेको पुलमा समेत प्रयोग गरिएको छ ।

“पुल निर्माणका लागि हालसम्म रु एक करोड ६७ लाख रकम प्राप्त भएकाले थप रकम मन्त्रालयबाट समयमै निकासा भए एक वर्षभित्रै पुल निर्माण गर्ने लक्ष्य लिएका छौँ” – उहाँले भन्नुभयो । असोज महिनामा शिलान्यास गरिएको पुल इन्धन अभाव देखाउँदै ठेकेदारले निर्माण ढिलो गरी सुरु गरेका हुन् । पुल निर्माणका लागि शनिबारदेखि ठेकेदारले काम थालेका छन् ।

प्रतिक्रिया