लाखौँका गाडी कुहिँदै

इनेप्लिज २०७२ माघ ३ गते ५:५४ मा प्रकाशित

गौशाला, ३ माघ । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित भूमिगत जलस्रोत विकास समितिको कार्यालयमा लाखौँ रुपैयाँका गाडी कुहिरहेको अवस्थामा छन् ।

महोत्तरी, धनुषा, सर्लाही र सिन्धुलीको संयुक्त कार्यालयका रुपमा रहेको सो कार्यालयको परिसरमा एक दर्जनभन्दा बढी महँगा देशी तथा विदेशी गाडी त्यसै थन्किरहेका छन् ।

सो कार्यालय परिसरको करिब चार बिघा क्षेत्रफलमा तीन रिङ मेसिन, एक पानी ट्याङ्कर, तीन तीन जिप र ट्र्याक्टर, चार ट्र्याक्टरका टेलर, दुई ट्रक र एक ठूलो जेनेरेटर तथा दर्जनभन्दा बढी पम्पलगायत यन्त्रसमेत बेवारिसे अवस्थामा घाम, पानीको सामना गर्दै कुहिरहेका छन् ।

चार जिल्लामा स्यालो ट्युबवेल, डिप ट्युबवेल जडान, इनार निर्माण र पम्प हाउस तथा पानी डेलिभरीका लागि च्यानल निर्माण गर्ने कार्यमा प्रयोग गरिने लाखौँ मूल्यका गाडी प्रयोगविहीन छन् ।

कुनै बेला सो कार्यालयले आफँै सिँचाइ सुविधाका लागि सम्पूर्ण काम गर्दा ती गाडी तथा यन्त्र प्रयोग गरेका थिए भने केही वर्षदेखि सो कार्यालयका काम ठेक्का र टेन्डरमार्फत हुन थालेपछि चालु अवस्थामै रहेका गाडी र यन्त्र थन्किएका हुन् ।

वर्षौंदेखि थन्किएर बसेका ती गाडी र यन्त्र अहिले पूर्ण रुपमा बिग्रेर घाम, पानी र खियाले खाइरहेको अवस्थामा छ । ती सामान कबाडीका रुपमा बेच्नु बाहेक कुनै विकल्प नरहेको सो कार्यालयका प्राविधिक बताउँछन् ।

सो कार्यालयका कर्मचारीका अनुसार कार्यालयको परिसरमा कुहिरहेका गाडी तथा यन्त्रलाई कबाडीका रुपमै बेचे पनि रु ५० लाखभन्दा बढी राजस्व असुली हुन सक्नेछ ।

सो कार्यालयका इन्जिनियर गोपालप्रसाद साहले कार्यालय परिसरभित्र बिग्रेर रहेका ती गाडी तथा यन्त्रलाई धेरै पटकसम्म लिलामी प्रक्रियाका लागि विभागमा पत्र पठाइसकेको तर विभागको लिलामी प्रक्रिया झन्झटिलो रहेकाले लिलाम हुन नसकेको बताउनुभयो ।

उहाँले वर्षौंदेखि लिलाम हुन नसकेका ती गाडी सम्बन्धित निकायले ध्यान दिएमा केही दिनमै लिलाम हुने तथा त्यसबाट लाखौँ राजस्व असुल हुन सक्ने बताउनुभयो ।

प्रतिक्रिया