पहिरोपीडितलाई चार लाख बढी सहयोग

इनेप्लिज २०७२ माघ ३ गते ५:५२ मा प्रकाशित

बाबियाचौर (म्याग्दी), ३ माघ । छ महिनाअघि मुदी र मुनामा गएको पहिरामा आफन्त गुमाएका पीडितलाई अस्टे«लियामा रहेका म्याग्देलीले शनिबार रु चार लाखभन्दा बढी वितरण गरेका छन् ।

म्याग्दी जलजला परिवार अस्टे«लियाले उपलब्ध गराएको रु चार लाख २५ हजार मृतकका आफन्त र पहिरो प्रभावित विद्यालयलाई उपलब्ध गराएको हो । मुदीका छ र मुनाका एक मृतकका परिवारलाई जनही रु २५ हजारका दरले सहयोग उपलब्ध गराइएको धनजनता मावि मुनाका प्रअ पुष्कर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिराको जोखिममा रहेको मुनाको दरमा रहेको सूर्यज्योति प्राविलाई रु दुई लाख ५० हजार सहयोग गरिएको छ । मुना घर भई हाल काठमाडौँमा बस्दै आउनुभएका रेशम भण्डारीको पहलमा म्याग्दी जलजला परिवार अस्टे«लियाका अध्यक्ष राजकुमार भण्डारीको नेतृत्वमा सहयोग सङ्कलन गरेर पठाइएको थियो ।

विसं २०७२ साउन १३ गते मुदी–५, नेरवाङको गाखर्कमा पहिरो जाँदा मुदीका दलदेवी पुन, तीर्थमान घर्ती, जीप्रसाद घर्ती, भीमबहादुर घर्ती, किसलाल पुन र हस्ता पुनको मृत्यु भएको थियो । यसैगरी मुना–५ कुनौटाको पहिरामा पुरिएर रविलाल पुनकी सात वर्षीया छोरी मेलिनाको मृत्यु भएको थियो ।

गाखर्क पहिरामा चार घरधुरी कृषकको दुई सय ५० भेडाबाख्रा र ७५ गाईगोरु पुरिँदा रु ५० लाख बराबरको क्षति भएको थियो । मृतकका आफन्तलाई पुरानै व्यवसायमा फर्किई जीविकोपार्जनमा सहज होस् भनेर यसअघि अस्टे«लियामा रहेका मुदीका युवा र म्याग्दी उद्धार समिति बहराइनले पनि रु दुई लाख ४८ हजार सहयोग गरेका थिए ।

प्रतिक्रिया