फलेवास (पर्वत), २ माघ । दक्षिण पर्वतको रानीपानी गाविसमा पहिलोपटक सञ्चालन गरिएको कृषि महोत्सवमा कृषकको घुइँचो लागेको छ ।
जिल्लाकै पहिलो यो महोत्सवमा कृषिजन्य वस्तु खरिद गर्ने र आफ्ना उत्पादन बिक्री गर्ने कृषकको घुइँचो लागेको हो । तीन दिनसम्म हुने महोत्सवमा रानीपानी, वहाकी, बर्राचौर, शालिग्राम, उरामपोखरा, होश्राङ्दीलगायतका गाविसका कृषक सहभागी भइरहेका छन् ।
मौसमी तथा बेमौसमी कृषिउपजको प्रदर्शन र बिक्री तथा प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय नमुना कृषि सहकारी संस्था लिमिटेडले महोत्सव आयोजना गरेको हो । महोत्सवबाट दक्षिण क्षेत्रका २० हजारभन्दा बढी कृषक लाभान्वित हुने अपेक्षा गरिएको छ ।
सोही अवसरमा जिल्ला कृषि विकास कार्यालय पर्वतले बाली बिरुवाको परीक्षण र निःशुल्क बीउ वितरण गरेको छ । शुक्रबार मात्रै करिब ४०० कृषकलाई तरकारीको बीउ वितरण गरिएको थियो । वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीका अनुसार काँक्रा, घिरौँला, ४० दिने मूला, करेला, भिन्डी, काउली, बन्दा, रायो, टमाटरलगायतका बिउ कृषकलाई वितरण गरिएको हो ।
महोत्सवमा कृषकले उत्पादन गरेको कफी, टमाटर, मूला, सिमी, काउली, बन्दा, रायो, ब्रोकाउली, खुर्सानी, मेवा, सुन्तला, कागती, फर्सीलगायत तीन दर्जनभन्दा कृषिजन्य उत्पादनको प्रदर्शन तथा बिक्री गरिएको मूल संयोजक रामप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
महोत्सवको शुक्रबार पर्वतका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले उद्घाटन गर्नुभएको हो । कृषिउपजको सङ्कलन र प्रदर्शन मात्र नभई महोत्सवमा राष्ट्रिय तथा स्थानीयस्तरका कलाकार, रत्यौली प्रतियोगितालगायतका आकर्षण पनि रहेका छन् । सोही अवसरमा विकट गाउँका बासिन्दाको बाध्यतालाई ध्यान राखेर जिल्ला प्रशासन कार्यालयले नागरिकता प्रमाणपत्र र जिल्ला निर्वाचन कार्यालयले मतदाता परिचयपत्र वितरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालका अनुसार शुक्रबार १०० जनालाई नागरिकता र ९० जनालाई मतदाता परिचयपत्र वितरण गरिएको थियो ।
महोत्सवमा लोक गायक विमलराज क्षेत्री, गायिका रितु थापा, गायक युवराज भुसाल, माधव पराजुली, मिलन सापकोटा तथा नायक मनोज श्रेष्ठको प्रस्तुति रहेका छन् ।
सो अवसरमा उत्कृष्ट कृषकलाई सम्मानसमेत गरिने कार्यक्रम रहेको संयोजक पराजुलीले जानकारी दिनुभयो ।
प्रतिक्रिया