सरकारी कार्यालय नागरिक बडापत्रविहीन

इनेप्लिज २०७२ पुष २९ गते २:२५ मा प्रकाशित

जुम्ला, २९ पुस । यहाँका एक दर्जनभन्दा बढी सरकारी कार्यालयमा सूचनापाटी तथा नागरिक बडापत्र राखिएको छैन ।

गत साउनमा भएको कर्णाली स्वायत्त प्रदेश मागको आन्दोलनका क्रममा जिल्लाका सरकारी कार्यालयमा राखिएका नागरिक बडापत्र तथा सूचनापाटी तोडफोड गरिएको थियो । कर्णाली आन्दोलन भएको छ महिना बितिसक्दा पनि जिल्लाका सरकारी कार्यालय सूचनापाटीविहीन हुनाले सेवाग्राहीलाई सेवा लिन कठिन भएको नेपाल पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष बरमबहादुर महतले बताउनुभयो ।

अध्यक्ष महतले भन्नुभयो, “सेवाग्राहीलाई साइनबोर्डविहीन कार्यालय पहिचान गर्न गाह्रो भएको छ, त्यसका साथै नागरिक बडापत्र नहुँदा कुन सेवा कसरी, कोसँग, कहाँबाट, कतिबेला लिने भन्नेमा सर्वसाधारणलाई कठिनाइ भएको छ ।”

सूचनापाटी तथा नागरिक बडापत्रविहीन कार्यालयमा जिविस, हुलाक, भूसंरक्षण, भवन डिभिजन, शिक्षा, स्वास्थ्य, वन, कृषि, पशु लगायत कार्यालय छन् । प्रजिअ दीपेन्द्रराज पौडेलले कार्यालय प्रमुखलाई ती सामग्री राख्न निर्देशन दिइएको बताउनुभयो ।

प्रतिक्रिया