आठ प्रदेश नै उपयुक्त: उपप्रम गच्छदार

इनेप्लिज २०७२ पुष २७ गते १२:५० मा प्रकाशित

INDIA-NEPAL-DIPLOMACYविराटनगर, २७ पुस । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सीमाङ्कनको समस्या समाधानका लागि मुलुकमा आठ प्रदेश नै सबैभन्दा राम्रो विकल्प रहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ‘अतिवादी चिन्तन र अतिवादी सीमाङ्कनको सम्बन्धमा राखिएका विचार’ को बीच बाटो आठ प्रदेश नै देखिएको प्रस्ट पार्नुभयो ।

मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्षसमेत रहनुभएका उहाँले नाकाबन्दी, बन्दहडतालका कारण गरिबलाई भोकभोकै कति दिनसम्म राख्ने भनी मधेसी मोर्चाप्रति प्रश्न गर्दै मोर्चालाई लचिलो भएर वार्तामा प्रस्तुत हुन आग्रह गर्नुभयो ।

संविधान संशोधनलगायत मुलुकको समस्याको समाधान संसद्बाट नै हुने भएकाले विश्वासिलो वातावरण बनाउनसमेत उहाँले मोर्चालाई आह्वान गर्नुभयो ।

झापा, मोरङ र सुनसरी कुनै पनि सर्तमा प्रदेश नं २ मा जान नसक्ने स्पष्ट पार्दै उहाँले मुलुकको आठ प्रदेश निर्माण गर्ने सोचाइका आधारमा झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहाको केही भाग मिलाएर प्रदेश बनाउन सकिने सम्भावना व्यक्त गर्दै भन्नुभयो– “व्यापारिक र राजनीतिक केन्द्रका रुपमा विराटनगर स्थापित भएकाले आठौँ प्रदेशको राजधानी विराटनगर हुनुपर्छ ।”

प्रतिक्रिया