साइकल प्रयोगमा जोड

इनेप्लिज २०७२ पुष २४ गते १३:०५ मा प्रकाशित

cycleकाठमाडौँ, २४ पुस । जनसङ्ख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले सरकारको प्रमुख प्राथमिकतामा देशको वातावरण र वातावरणसँग सम्बन्धित मन्त्रालय नपरेको गुनासो गर्नुभएको छ ।

नेपाल बार एसोसिएसन वातावरण कानुन समितिले आज यहाँ आयोजना गरेको ‘पेरिस सम्मेलनको मूल्याङ्कन र यसबाट नेपाललाई हुने फाइदा’सम्बन्धी अन्तक्र्रियामा उहाँले वातावरण संरक्षणका लागि आफ्नो मन्त्रालयलाई प्राथमिकतामा राखिनुपर्ने औँल्याउनुभयो ।

कार्बन उत्सर्जन न्यून गर्न वैकल्पिक ऊर्जाको प्रयोग गर्न र सवारी साधनका रुपमा साइकललाई नै प्रयोगमा ल्याउन जोड दिँदै उहाँले भारतको भ्रमणमा पनि आफूले यही अभियान अघि बढाउने जानकारी दिनुभयो ।

मन्त्री पासवानले झन्डै ७० प्रतिशत जनताले प्रयोग गरेको साइकलको सम्मान गर्न आफूले उच्चस्तरका नेतालाई साइकल प्रदान गरेको र अब नेतृत्व तहले पनि जनतालाई साइकल प्रयोगका लागि सुविधा उपलब्ध गराउनुपर्ने औँल्याउनुभयो ।

मन्त्रालयका सहसचिव रामप्रसाद लम्सालले मानिसका हरेक क्रियाकलापबाट पृथ्वीको तापक्रम बढ्दै गएकाले त्यसलाई कसरी न्यूनीकरण गर्ने भन्नेमा आजको चासो रहेको उल्लेख गर्दै विकसित मुलुकबाट भएको कार्बन उत्सर्जनबाट नेपालले प्राप्त गरेको रु २० अर्बलाई सदुपयोग गर्न योजना बनाउनुपर्ने बताउनुभयो ।

जलवायु परिवर्तनबाट प्रभावित हुने १९६ राष्ट्रमध्ये नेपाल चौथो स्थानमा रहेको र नेपालमा दशमलव ०६ प्रतिशतका दरले तापक्रम बढेको बताइएको छ ।

प्रतिक्रिया