व्यस्त छु, बच्चा जन्माउने समय छैन्

इनेप्लिज २०७२ पुष २४ गते २:४४ मा प्रकाशित

Suvecha-Thapa-3

कुन्ती शाही, राज्यमन्त्री
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय
राजनीतिक जीवनको प्रारम्भिककालदेखि नै विद्यार्थी संगठनमार्फत चिनिएकी कुन्तीकुमारी शाही अहिलेको सरकारमा स्थानीय विकास राज्यमन्त्री छन् । दैलेख घर भएकी, तर काठमाडौंलाई कार्यक्षेत्र बनाएकी उनी राज्यमन्त्री भएयता देलैख आवत–जावत निकै बढेको छ । उनी राज्यमन्त्री नियुक्त भएको अघिल्लो दिन घरमा बसेकी एक बालिकाले आत्महत्या गरेको कारण उनी विवादमा तानिइन् । तर, भनिएजस्तो आरोप पुष्टि नहुँदा उनी अहिले तनावमुक्त छिन् । उनै शाहीसँग हरि गजुरेलले गरेको कुराकानीको सम्पादित अंश
० जनताको संविधानजनताकै हातमा कार्यक्रमको संयोजक हुनुहुन्छ, यो कार्यक्रम कसरी अगाडि वढिरहेको छ ?
हरेक जिल्लामा मन्त्रीज्यू जाने अभियान सुरु भइसकेको छ । म गत २२ गते आफ्नो गृहजिल्ला दैलेखमा पुगेर फर्किए । उपप्रधानमन्त्री भीम रावल दार्चुला र बझागंमा,कैलालीमा सीपी मैनाली, अग्नी खरेल, शेरधन राई ताप्लेजुङं ,कृषि मन्त्री सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकमा अग्नी खरेल, रेखा शर्मा दाङ, विक्रम थापा नुवाकोट, रामकुमार सुव्वा सुनसरी, उमेश यादव सप्तरी, प्रचण्ड सिरहा जाँदै हुनुहुन्छ, टोपबहादुर रायमाझी आफ्नै गृहजिल्ला, झलनाथ खनाल भत्तपुर, पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द ललितपुर जाँदै हुनुहुन्छ । उपप्रधानमन्त्री कमल थापा मकवानपुरमा पुगिसक्नुभएको छ । सुवास नेम्वाङ आफ्नै गृहजिल्ला जादै हनुहुन्छ । काग्रेसबाट पूर्व प्रधानमन्त्रीहरुको नाम आसन्न महाधिवेशनका कारण नाम टुंगो लागिसकेको छैन । मूल कानुन बनिसकेपछि आफ्नो यो संविधानमा भएका व्यवस्थालाई प्रष्ट रुपमा जनताले चाँडो भन्दा चाडो थाहा पाउन भन्नका लागि हामीले कल्पना गरेको सबल सक्षम राष्ट्र निर्माण गर्नका लागि यो अभियान चालेका हौँ ।
० यो सरकारमा मधेश रोजाइमा नपर्नुको कारण चाँहि के हो ?
– होइन, मधेश रोजाईमा परेन भन्ने होइन । उमेश यादव जादै हुनुहुन्छ । मधेशबाट प्रतिनिधित्व गर्नै माननीयज्यूहरु पनि जादै हुनुहुन्छ । मधेशका धेरै माननीय साथीहरुले एक दुई दिन पख्नुहोस भन्नुभएको छ । यो मधेशलाई केन्द्रीत गरेर ल्याइएको कार्यक्रम पनि होइन् । सम्पूर्ण जनताले थाहा पाउनुपर्दछ भनेर ल्याइएको कार्यक्रम हो । गाउँ र क्षेत्रमा चालिस प्रतिशत महिला प्रतिनिधित्व र माथि आएर ३३ प्रतिशतको प्रतिनिधित्व प्रयोग गर्नका लागि हामी तयार हुनुपर्यो । संविधान आफैंमा पूर्ण हुँदैन । भएका राम्रा व्यवस्थालाई प्रयोग गर्दै जाने,नपुग व्यवस्थाहरु थप गर्दै लैजाने । यो संविधानका सबैभन्दा राम्रो व्यवस्था भनेको संशोधनीय व्यवस्था हो । कुनै पनि विषय अपरिवर्तनीय छैन ।
० त्यही कुरा यहाँहरुले मधेशी दलहरुलाई किन बुझाउन नसक्नुभएको ?
मधेशी दललाई बुझाउन नसकेको हुँदै होइन । दलहरुले राम्रोसँग बुझेका छन । असन्तृष्टि छन, हुन्छन । त्यो स्वभाविक हो । आवधिक निर्वाचनको व्यवस्था संविधानमा राखिएको छ । जनताकहाँ गएर राम्रो काम गरी ठूलो दल बनेर आफ्नो कुरा फेरि पनि संशोधन गर्न सकिन्छ । संविधानमा भएको संशोधन भएको व्यवस्थालाई प्रयोग गर्नुपर्दछ । नेपाली जनता कति दिन लडिरहने ? कति दिन रगतको खोला बगाइरहने ? हिजोको द्वन्द्वले कहाँ पुग्यौं, आजको अवस्थाले कहाँ धकेलिदैँ छौं । एकतापूर्ण ढंगबाट समस्याको सामाधान खोजिनुपर्दछ ।
० राज्यमन्त्रीमा यहाँको मनोनयनसँगै पार्टी भित्र असन्तृष्टि चुलिएको छ नि ?
पद नपाए पछि असन्तृष्टि देखिनु स्वभाविकै हो । तर आफूलाई यो मन्त्री पद प्राप्त गरिरहँदा म जति समय बस्छु राम्रो कामका लागि मात्र बस्छु । म ४८ साल देखि राजनीतिमा छु । महिला भएकै कारण पार्टी राजनीति गर्दा कति असहज होला त्यस्को मूल्यांकन पनि तपाईंहरुले गर्नु आवश्यक छ । निरन्तर रुपमा २२ वर्ष राजनीतिमा सक्रिय रुपमा कहिँ कतै नचुकेर आफ्नो जिम्बेवारी सम्हाल्छु । मलाई के कुरामा हेक्का छ भने म सधैंका लागि मन्त्री रहिरहने पनि होइन । मलाई मन्त्री बनाउदा पार्टीमा असन्तृष्टि वढ्यो भन्ने कुरा म स्वीकार्न तयार छैन ।
० यहाँ भन्दा सिनियरहरु हुँदा हुँदै उनीहरुलाई त्यागेर यहाँलाई रोजियो भन्ने गुनासो पार्टी पंक्ति भित्र सुन्न पाइन्छ ?
पार्टीबाट यो कुरा सुन्नुभएको छैन होला । म यो कुरा दावीका साथ भन्छु । मैल अहिले पनि भनेँ, २२ वर्ष राजनीति गरेको इतिहास हो यो । म विद्यार्थी संगठनको उपाध्यक्षबाट महिला संघको महासचिव हुँदै यहाँसम्म आएकी हुँ । सिनियर केलाई भन्ने ? उमेरलाई भन्ने कि, धनसम्पत्तिलाई भन्ने कि, मोटोघाटोलाई भन्ने ? र, त्यस्तो व्यक्ति हुँला, जसले धेरै जिल्लामा गएर पार्टीको संगठन पनि गरेको छ । म सुतेर बसेको छैन । म कहिल्यै पनि निराशावादी भइन । राप्रपा नेपालको जन्म हुने बेला हामीलाई ढुंगामाटो र हावाले पनि लखेट्थ्यो । त्यस्तो अवस्थामा पनि आफूलाई गम्भीर राजनीतिक चरित्रकै कारणले गर्दा कहिँ हलचलल नभई, कुनै कुरामा नझुकी यहाँसम्म आएकी हुँ । सिनियारिटीको हिसाबमा २२ वर्षको राजनीतिलाई के भन्ने ? म मा कुनै किसिमको असक्षमता छ भने त्यो स्वीकारौँला, तर मैले धेरै लामो संघर्ष गरेको छु । हो, उमेरमा म जुनियर छु । संघर्षमा जुनियर छैन । क्षमतामा पनि जुनियर छैन ।
० फुलमन्त्री दिन किन कञ्जुस्याई गरियो ?
– अहिले नै मन्त्री पाइला भन्ने आश मैले गरेकी थिएन् । हिजोको दिनमा सांसद भइएला भनेर आश गरेको थिइनँ । मलाई जे पद दिइएको छ, त्यो पद दिएर ठीक भयो भन्ने देखाउँछु ।
० प्रधानमन्त्रीले मनखुशी उपप्रधानमन्त्री बनाएजस्तो राप्रपा नेपालले एउटै मन्त्रालयमा तीन मन्त्री किन बनाएको ?
– मनलाग्दी गरेको महसुस गरेको छैन । हामीले तीनवटा मन्त्रालय पाएका छौँ । त्यसलाई व्यवस्थापन गर्ने जिम्मा हाम्रै हो ।
० अघिल्लो सरकारले नगरपालिका घोषणा गरेर संख्या बढाएको छ । नगरपालिकाहरुलाई नगरपालिका बनाउने काम कत्तिको सहज छ ?
– बजेटको खाँचो होइन । तर, पूर्वाधारहरु व्यवस्थित भएका छैनन् । त्यहाँका जनता करको दायरामा आउनुपर्छ । त्यहाँभित्र जनशक्तिको अभाव छ । बजेटको अभावभन्दा पनि बनाइएका नगरपालिकालाई कसरी व्यवस्थित गर्ने भन्ने मुख्य चुनौतिको विषय हो ।
थोरै प्रसंग बदलौँ ।
० घरमा काम गर्न राखिएकी बालिकाले आत्महत्या गरेको कुरालाई अस्वभाविक रुपमा पनि लिइएको छ । के भएको हो ?
– मैले बहिनीको रुपमा उनलाई राखेकी थिएँ । के कारणले उनले आत्महत्या गरिन्, मलाई थाहा छैन । बरु, उनले आत्महत्या गरेर मलाई परेको पीडाबारे उनका बाबुआमाले मलाई नै सम्झाएर जानुभएको छ । यसका बारेमा मलाई भन्दा बढी मेरा छिमेकीलाई सोध्दा हुन्छ । यो घटनालाई अनावश्यक रुपमा उछाल्ने काम भयो । त्यसले मलाई पीडा दियो । मेरो पीडामाथि नूनचुक दल्ने काम पनि भएको छ ।
० छोरीको रुपमा ल्याएर पालनपोषण गरेको भन्ने, तर घरेलु कामदारको रुपमा प्रयोग गरेको भनिन्छ नि ?
– मसँग घरमा चिया खान जाने साथीहरुलाई सोध्नुस्, म चिया पनि आफँै बनाउँछु । वरिपरिका मान्छेलाई सोध्नुस्, मैले उनलाई घरायसी काम लगाएकी कि लगाइन भन्ने कुरा । मैले काम गरेको देखेर, तपाईं त मान्य भएर सबै काम गर्नुहँुदो रहेछ पनि भन्छन् । मेरो श्रीमान् टिपटप होइबक्सन्छ । श्रीमान् आफैँले पनि घरको काम गरिबक्सन्छ ।
० बिहे ढिलो गर्नुभयो नि, ढिलो बिहेको फाइदा के रहेछ ?
– बिहेमा पनि फाइदा र बेफाइदा भन्ने हुन्छ र ? मलाई त त्यस्तो केही पनि लाग्दैन । आफ्नो जीवनलाई आफूले कसरी लिने भन्ने कुरा हुन्छ । विवाह गर्नुअघि पनि पत्रकार साथीहरुले मलाई विवाह गर्ने कि नगर्ने भनेर सोध्थे ।
० बालबच्चाको तयारी ?
– हामी राजनीति गर्ने मान्छेले आफ्नो लागि भनेर गर्ने कुरा केही पनि नहुँदोरहेछ । अहिले बच्चा जन्माउने समय नै छैन् ।
० सभासद् हुनुअघि दैलेख जान मन गर्नुहुन्थेन । अहिले किन आवतजावत बढेको ?
– नजाने होइन, म गइरहन्थेँ । म पार्टीलाई सशक्त बनाउने काममा लागेको थिएँ । त्यसैले कम गएँ । तर, अब म दैलेखबाट प्रत्यक्ष निर्वाचन लड्दैछु ।
० सरकारमा जानुपूर्व तपाईंहरु हिन्दू राष्ट्र भन्नुहुन्थ्यो । सरकारमा गएपछि चटक्कै छाड्नुभयो नि ?
– हिन्दू राष्ट्रमात्र हैन, हामीले उठाएका कुनै पनि राजनीतिक एजेन्डा सरकारमा गएको नाममा थाँती राखेका छैनौँ । हामी हाम्रो प्रत्येक एजेन्डामा उत्तिकै दृढ छौँ ।

प्रतिक्रिया