नवज्योतिमा दुई शिक्षक, आठ विद्यार्थी

इनेप्लिज २०७२ पुष २२ गते ३:२५ मा प्रकाशित

बेनी (म्याग्दी), २२ पुस । म्याग्दीको भकिम्ली–७ मरेक गाउँमा रहेको नवज्योति प्राविमा दुई शिक्षक र आठ विद्यार्थी रहेका छन् ।

विद्यार्थीको अभावमा तीनकोठे विद्यालय भवनको एउटा कोठा मात्रै प्रयोगमा आएको छ । जम्मा २९ घरधुरी रहेको गाउँका अधिकांशले आफ्ना छोराछोरीलाई सदरमुकाम बेनीमा लैजान थालेपछि विद्यार्थी सङ्ख्या घटेको विद्यालयका प्राचार्य दिलबहादुर थापाले बताउनुभयो ।

विसं २०४१ मा स्थापना भएको विद्यालयमा १ देखि ३ कक्षासम्म पढाइ हुने गरेको छ । तीनवटै कक्षाका विद्यार्थी एउटै कक्षाकोठामा बसेर पढ्ने गरेका प्राचार्य थापाले जानकारी दिनुभयो । “दुई दिनअगाडि मात्रै दुई विद्यार्थी थपिएपछि आठजना पुगेका हुन्”, थापाले भन्नुभयो । दुई शिक्षकको दरबन्दी रहे पनि कार्यरत दुबै शिक्षक अस्थायी हुन् ।

विद्यार्थी सङ्ख्या न्यून भएपछि जिल्ला शिक्षा कार्यालयले विद्यालयलाई सेवाक्षेत्रकै विद्यालयमा गाभ्ने प्रस्ताव गरे पनि मुसुङडोले निमाविमा दुई घन्टा र छिमेकी गाविस बरन्जामा पुग्न डेढ घन्टा लाग्ने भएकाले समस्या भएको जिल्ला शिक्षा कार्यालयका स्रोतव्यक्ति दुर्गाराम सुवेदीले बताउनुभयो । जिल्लामा अन्य सामुदायिक विद्यालयमा समेत विद्यार्थीको सङ्ख्या घट्दो अवस्थामा रहेको छ । अङ्ग्रेजी पुस्तकालयसहितको सुविधा भएका केही सामुदायिक विद्यालयमा भने निजी विद्यालयबाट समेत विद्यार्थी आउने गरेका छन् ।

प्रतिक्रिया