ट्रम्प प्रशासनको सामूहिक कर्मचारी हटाउने योजनालाई अदालतद्वारा रोक: “संविधानभन्दा माथि राष्ट्रपति होइन”

इनेप्लिज २०८२ वैशाख २७ गते १०:४१ मा प्रकाशित

संघीय न्यायाधीश सुजन इल्सटनले शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा संघीय निकायहरू पुनःसंरचना गरी दशौं हजार कर्मचारी हटाउने योजनामा १४ दिनको अस्थायी रोक लगाउने आदेश दिएकी छिन्।

उक्त निर्णय अप्रिल २८ मा संघ , गैरनाफामूलक संस्था र स्थानीय सरकारहरूको समूहले दायर गरेको मुद्दापछि आएको हो। इल्सटनले भनिन्, “राष्ट्रपतिसँग संघीय निकायहरू पुनःसंरचना गर्ने अधिकार छ, तर त्यो केवल कानुनी तरिकाबाट र कंग्रेसको सहयोगमा मात्र सम्भव हुन्छ।”

फेब्रुअरीमा ट्रम्पले सरकारी निकायहरूलाई सरकारी दक्षता बिभाग (डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसियन्सी)सँग मिलेर ठूलो स्तरको छनौट र पुनःसंरचनाको लक्ष्य पहिचान गर्न निर्देशन दिएका थिए। योजनामा अनावश्यक पद हटाउने, क्षेत्रीय कार्यालयहरू बन्द गर्ने, ठेकेदारको प्रयोग घटाउने र दोहोरिएको कामहरू स्वचालित बनाउने प्रस्तावहरू छन्।

न्यायाधीश इल्सटनले भने, “संघीय सरकारको अराजकतापूर्ण पुनःसंरचनाले देशभर अत्यावश्यक सेवा प्रभावित पारेको छ।” न्यायाधीशका अनुसार, यो प्रयासले कर्मचारी, परिवार र समुदायको व्यापक रोजगारी र सुविधा गुमाउने खतरा निम्त्याएको छ। अदालतले २२ मे मा विस्तारित आदेशबारे सुनुवाइ गर्नेछ।

मुद्दा दायरकर्ताहरूले ट्रम्प, डज ,बजेट कार्यालय र कर्मचारी व्यवस्थापन कार्यालयले प्रशासनिक कानुन उल्लङ्घन गर्दै अधिकारको दुरुपयोग गरेको आरोप लगाएका छन्।

प्रतिक्रिया