म्याग्दीको मुदीका बासिन्दाको दैनिकी सोलारले सहज बनायो

इनेप्लिज २०७२ पुष २२ गते ३:०८ मा प्रकाशित

Myagdi_district_locationम्याग्दी, २२ पुस । बढ्दो विद्युत्भार कटौती र इन्धन अभावका कारण सहरी क्षेत्रको जनजीवन अस्तव्यस्त बनिरहेको अवस्थामा म्याग्दीको मुदीका बासिन्दाको दैनिकीमा भने सौर्य ऊर्जाले परिवर्तन ल्याएको छ ।

भौगोलिक विकट, सडक, सञ्चार, विद्युत्लगायत सुविधाबाट वञ्चित मुदीका बासिन्दाको जीवनशैलीमा सोलारले परिवर्तन ल्याएको हो ।
घरघरमा सौर्य ऊर्जा जडान गरेपछि महँगोमा मट्टितेल किन्नुपर्ने, सिठ्ठा र दियालो खोज्न जङ्गल जानुपर्ने बाध्यता हटेको मुदीका बासिन्दा खिमबहादुर घर्तीले बताउनुभयो । ५७८ घरधुरी रहेको मुदीका अधिकांश घरमा सोलार जडान भएको छ । बत्ती बाल्ने, रेडियो सुन्ने, टिभी हेर्ने, मोबाइल चार्ज गर्ने, ल्यापटप तथा कम्प्युटर चलाउने काम सोलारबाटै भएको छ । बालबालिकालाई पढ्न सजिलो भएको छ ।

मुदीका बासिन्दाले घरका कुखुरा, चल्ला, भेडाबाख्रा, जडीबुटी बेचेर भएको आम्दानीका साथै वैदेशिक रोजगारीबाट भित्रने विप्रेषणबाट सोलार किनेका हुन् ।
केन्द्रीय विद्युत्. प्रसारण लाइन र लघुजलविद्युत् परियोजनाको सम्भावना नरहेपछि दैनिकीलाई सहज बनाउनका लागि सोलार जडान गरेको मुदीवासीले बताएका छन् । त्यहाँका अधिकांश घरमा ५१ वाट क्षमताको सोलार प्यानल छन् । भेडाबाख्रा र गाईभैँसी लिएर लेकबेसी गर्ने गोठालाले पनि सानो क्षमताको टुकीमारा र डुलाउन मिल्ने सोलार प्यानल जडान गरेका प्राविधिक श्याम भण्डारीले बताउनुभयो ।

मुदीगाउँमा पछिल्लो एक वर्षमा मात्रै ६० वटा सोलार जडान भएको छ । सौर्य ऊर्जा जडान गर्नका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले प्रतिसेट रु सात हजारसम्म अनुदानको व्यवस्था गरेको थियो । रु २० हजारको लगानीमा जडान गर्न सकिने सोलार सेटबाट सातवटासम्म बत्ती बाल्न र मोबाइल चार्ज गर्न सकिन्छ । बत्ती नबालेको अवस्थामा दुई घन्टासम्म टिभी हेर्न पनि सकिन्छ ।

प्रतिक्रिया