शिक्षा क्षेत्रमा १६ करोडको सम्झौता

इनेप्लिज २०७२ पुष २० गते १:३५ मा प्रकाशित

परासी, २० पुस । नवलपरासीमा जिल्ला शिक्षा कार्यालयले नवलपुर क्षेत्रमा करिब १२० विद्यालयसँग भौतिक संरचना निर्माण गर्न करिब रु १६ करोड बराबरको सम्झौता गरेको छ ।

विद्यालयमा भौतिक निर्माणअन्तर्गत, दुईकोठे, तीनकोठे, चारकोठे, छकोठे र आठकोठे भवन, शौचालय, खानेपानी पूर्वधार निर्माण र मर्मत सम्भारलगायतको काम गर्न विद्यालयसँग सो सम्झौता गरेको हो ।

जिल्लाभर करिब ४५० विद्यालयलाई यस कार्यक्रमअन्तर्गत बजेट वितरण गर्ने योजना रहेको जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी गोपालप्रसाद कँडेलले बताउनुभयो ।

विजय सामुदायिक टेलिभिजन प्रसारणमा

नवलपरासीमा विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडले विजय सामुदायिक टेलिभिजन प्रसारणमा ल्याउने भएको छ ।

गैँडाकोटमा क्षेत्रीयस्तरको टेलिभिजन सञ्चालनका लागि टेलिभिजन प्रसारणका लागि सम्भाव्यता अध्ययन र पूर्वाधार निर्माण भइरहेको संस्थाका अध्यक्ष इन्द्रराज ज्योति पौडेलले बताउनुभयो ।

एक वर्षभित्रमा संस्थाको आफ्नै नयाँ भवन निर्माण गरी टेलिभिजनलाई क्षेत्रीय सञ्चारमाध्यमका रुपमा स्थापित गर्ने योजना रहेको संस्थाका सचिव भूमिराज चापागाईंले बताउनुभयो ।

यसअगावै विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडले जिल्लामा पहिलो सामुदायिक रेडियो र विजय खबर पत्रिकासमेत नियमित रुपमा सञ्चालन गर्दै आएको छ ।

अब जिल्ला विजय टेलिभिजन स्थापना हुने भएपछि जिल्लामा स्थानीय टेलिभिजनको सङ्ख्या पाँच पुग्ने छ । यसअगावै जिल्लामा स्थानीय टेलिभिजनहरु मुकुन्दसेन, देवचुली, त्रिवेणी र बुद्धदर्शन प्रसारणमा छन् ।

प्रतिक्रिया