संविधानको विशेषतामाथि प्रकाश

इनेप्लिज २०७२ पुष २० गते १:३४ मा प्रकाशित

धादिङ, २० पुस । नेपालको संविधानमा रहेका मूलभूत विशेषतामाथि सांसद एवम् पूर्वमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रकाश पार्दै यसको कार्यान्वयनका लागि सबै पक्षको सहयोगको आवश्यकता रहेको बताउनुभएको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको प्रचारप्रसार अभियानअन्तर्गत जिल्ला विकास समिति, धादिङ र नीलकण्ठ नगरपालिकाद्वारा हिजो आयोजित कार्यक्रममा सांसद पाण्डेले संविधानमा व्यवस्था गरिएको मौलिक हक, नागरिकतासम्बन्धी प्रावधान, समावेशी, समानुपातिक व्यवस्था, महिला, दलित, मधेसी, आदिवासी जनजाति, पिछडा वर्ग, सीमान्तकृत समुदाय, अल्पसङ्ख्यक समुदाय, थारु, मुस्लिम र अपाङ्गता भएकाहरुको अधिकारमाथि प्रकाश पार्नुभएको थियो ।

स्थानीय विकास अधिकारी भगवान् अर्यालको सभापतित्वमा आयोजित कार्यक्रममा सांसद पाण्डेले विश्वकै उत्कृष्ट संविधान भएर पनि जनसमक्ष यसको विशेषताबारे समयमै प्रकाश पार्न नसक्दा केही मधेसवादी दलहरुले जनतालाई भ्रमित बनाई मधेस आन्दोलन चर्काइरहेको र त्यसबाट सिर्जित नाकाबन्दीले गर्दा जनतामा परिरहेको प्रभावको समेत चर्चा गर्दै जनतालाई सुसूचित गराउन अभियानको थालनी गरेको बताउनुभयो ।

प्रतिक्रिया