तीन सय बढी घरमा सौर्य ऊर्जाबाट उज्यालो

इनेप्लिज २०७२ पुष १८ गते ३:४९ मा प्रकाशित

कञ्चनपुर, १८ पुस । तीन वर्षअघि गाउँमा पुर्‍याइएका विद्युत्का पोल गाड्न नपाउँदै थन्क्याइएपछि कञ्चनपुरको पिलरीफाँटाका बासिन्दाले घरघरमा सौर्यऊर्जा जडान गरेका छन् ।

विद्युत्का पोल नगाडिएपछि स्थानीय बासिन्दाले विकल्पका रुपमा सौर्यऊर्जा जडान गरी गाउँलाई उज्यालो पारेका हुन् ।

बस्तीका ५०० परिवारमध्ये ३०० परिवारले उज्यालोका लागि सौर्यऊर्जा जडान गरेको स्थानीय तिलक जप्रेलले बताउनुभयो ।

“अनुदानमा रु तीन हजार खर्चेर गाउँका सबैजनाले घरघरमा सौर्यऊजा जडान गरेका छन्” उहाँले भन्नुभयो । सौर्यऊर्जा जडान गरेपछि विद्युत् भार कटौतीको समस्या र मोबाइल चार्ज गर्न नजिकैका गाउँमा पैसा तिर्नुपर्ने झन्झट हटेर गएको उहाँले बताउनुभयो ।

विगतमा उज्यालोको व्यवस्था नहँुदा बालबालिकालाई रातिका बेला मट्टितेलको बत्ती बालेर पढाउन बाध्य थियौँ जस्मा धामीले भन्नुभयो, “बत्तीको धुवाँका कारण बालबालिकामा श्वासप्रश्वासको समस्या बढ्दो थियो ।”

“सौर्यऊर्जाको व्यवस्था भएपछि त्यो समस्या हटेको छ” उहाँले भन्नुभयो । सहजरुपमा उज्यालो हुने र बेफाइदाभन्दा फाइदा बढी भएकाले सौर्यऊर्जा जडान नगरेका परिवारले पनि दैनिक मजदुरी गरेर बचत गरेको रकम सौर्यऊर्जा जडानका लागि खर्च गर्न थालेका छन् ।

“मजदुरी गरेर ल्याईएको केही पैशा सौर्यउर्जा जडानका लागि बचत गरेका छौं” स्थानिय दल बहादुर धामीले भन्नुभयो ।

प्रतिक्रिया