कक्षाकोठामा शैक्षिक सामग्रीको प्रयोगले सिकाइमा सुधार

इनेप्लिज २०७२ पुष १७ गते २:१० मा प्रकाशित

बाबियाचौर (म्याग्दी), १७ पुस । कक्षाकोठामा शैक्षिक सामग्रीको प्रदर्शनी गर्ने विधि अपनाएपछि सामुदायिक विद्यालयको सिकाइ उपलब्धिमा सुधार आएको छ ।

हिस्तान र राम्चे गाविसमा रहेका विद्यालयमा शैक्षिक सामग्रीको प्रयोगले विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार आएको हो । कक्षाकोठामा शैक्षिक सामग्रीको प्रदर्शनी गरेर पठनपाठन गराउन थालेपछि विद्यार्थीमा पढाइप्रति रुचि र सिकाइ उपलब्धिमा सुधार भएको विद्यालयले जनाएको छ ।

विद्यार्थीले नबुझेको र बिर्सिएको कुनै विषयमा कक्षाकोठामा प्रदर्शन गरिएको सामग्रीबाटै सिक्ने अवसर पाउने भएकाले सिकाइ उपलिब्ध वृद्धि भएको टिकोट मावि टिकोटका विज्ञान शिक्षक गोविन्द गर्बुजाले बताउनुभयो । “कक्षाकोठामा शिक्षकले पढाएको बुझेनन् अथवा बिर्सिए भने भित्तामा राखिएको शैक्षिक सामग्री हेरेर सम्झने र बुझ्ने अवसर पाएका छन्”, शिक्षक गर्बुजाले भन्नुभयो, “शैक्षिक सामग्रीको प्रयोग गरेर अध्यापन गराउने विधि प्रभावकारी बनेको छ ।”

हिस्तानका पाँच र राम्चेका पाँचवटा विद्यालयको प्रावि र निमावि तहको सबै कक्षाकोठामा शैक्षिक सामग्रीको प्रदर्शनी गरिएको छ । कक्षाकोठाका भित्ता, झ्यालदेखि बीच भागमा रसी तानेर कागजमा विभिन्न विषयसँग सम्बन्धित चार्ट, चित्र, तथ्याङ्क, वाक्यहरु लेखेर झुन्ड्याइएको छ । शिक्षक र विद्यार्थी मिलेर कक्षाकोठामा पाठको सन्दर्भ अनुसारका सहयोगी शैक्षिक सामग्री तयार पार्छन् । भाषिक सीप विकास, ज्ञान र पढाइप्रति रुचि बढाउन शैक्षिक सामग्री उपयोगी भएको आदर्श मावि रिमाका स्रोतव्यक्ति भरत पुनले बताउनुभयो ।

उहाँका अनुसार दुई वर्षअघि प्रावि र निमाविको सरदर सिकाइ उपलब्धि ४५ प्रतिशत रहेकामा गत शैक्षिकसत्र २०७१ को सिकाइ उपलब्धि ५० को हाराहारीमा पुगेको छ । दुई वर्षअघि टिकोट माविमा प्रयोगमा ल्याइएको यस्तो विधि गत वर्षदेखि सबै विद्यालयमा प्रयोगमा ल्याइएको थियो । शैक्षिक सामग्रीको निर्माण र प्रयोगका सम्बन्धमा रिड संस्था र शैक्षिक तालिम केन्द्रले शिक्षकलाई तालिम प्रदान गरेको थियो । परम्परागत शिक्षण विधिको तुलनामा शैक्षिक सामग्रीको प्रदर्शनी विधि सिकाइ उपलब्धि सुधारका लागि प्रभावकारी देखिएको शिक्षकको भनाइ छ ।

प्रतिक्रिया