बालमैत्री स्थानीय निकाय बनाउन पुनर्वासको प्रयास

इनेप्लिज २०७२ पुष १७ गते १:५१ मा प्रकाशित

पुनर्वास (कञ्चनपुर), १७ पुस । सामाजिक तथा विकास निर्माणमा बालबालिकाको पहुँच विस्तार गरी बालमैत्री स्थानीय निकाय बनाउन जिल्लाको दक्षिण भेगमा रहेको पुनर्वास नगरपालिकामा पहल थालिएको छ ।

स्थानीय निकायलाई बालमैत्री बनाई विकास निर्णय निर्माण तहमा पहुँच बढाएर बालबालिकालाई ठूलासरह समान अवसर प्रदान गराउने सरकारी नीतिअनुरुप सुदूरपश्चिममा पहिलोपटक बालमैत्री बनाउन पहल थालिएको हो । नेपालमा पहिलो बालमैत्री नगरपालिकाका रुपमा नवलपरासीको सुनवललाई घोषणा गरिएपछि पुनर्वासलाई बालमैत्री बनाउने तयारी सुरु गरिएको हो । सरकारले ल्याएको निर्देशिकाबमोजिमका सबै मापदण्ड पूरा गरेपछि नगरपालिकालाई बालमैत्री घोषणा गरिने पुनर्वास नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बुढाले बताउनुभयो ।

कार्यकारी अधिकृत बुढाले भन्नुभयो,“बालमैत्री बनाउन आवश्यक आधारभूत तत्व विकासमा नगरपालिकाले वडास्तरमा बाल क्लब, बाल सञ्जाल, बाल संरक्षण समिति गठन गरी बालबालिकाको अधिकार सुनिश्चित बनाउन जनचेतना जगाउन सडक नाटक, क्षमता अभिवृद्धिका लागि तालिमलगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।”

बालबालिकालाई अन्यसरह पहुँचको स्तर बढाउन आगामी वर्षका लागि ऐनले व्यवस्था गरेअनुसारका नीति तथा कार्यक्रम ल्याउने र बालमैत्री बनाउनुको महत्व वडास्तरसम्म सशक्त बनाएर लिने तयारी गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार शिक्षा, स्वास्थ्य, प्रहरी लगायतका निकायमा बालबालिकाका सवालमा सकारात्मक सहयोगी बनाउन प्रयत्न कार्यक्रम सुरु गरिने छ ।
बालबालिकाका समस्या ठूलो मान्छेभन्दा भिन्न हुने र उनीहरुको रुचिअनुसारको व्यवहार सरोकारवालाले गर्नुपर्ने आवश्यकताको विकास पुनर्वासमा गरी सबै तह र निकायमा बालमैत्री व्यवस्था बनाउन पुनर्वास नगरपालिका लागिपरेको नगरपालिकाका सामाजिक विकास इकाई शाखा प्रमुख ओमनाथ ढकालले बताउनुभयो ।

प्रतिक्रिया