भारतको बिरोध गर्नेहरुका नाममा…

इनेप्लिज २०७२ पुष १५ गते १०:१० मा प्रकाशित

Deepak-Gautam-272x300

भारत र चीन दुवै देशसँग नेपालको समान व्यापारिक सम्बन्ध हुनुपर्छ भन्ने कुराको माग २०२७ र २०४५ सालले यसअघिनै गरेको हो, तर विडम्बनाको कुरा हामीले २०२७ साल र २०४५ सालबाट कुनै पाठ सिकेनौँ र त्यसको फल अहिले २०७२ सालमा भोग्दै छौँ । २७ सालमा भारतले नाकाबन्दी गर्दा हामीले पाठ सिकेर अरु देशहरुसँग व्यापारिक सम्बन्ध गाँसेको भए सायद ४५ सालमा भारतले नेपा माथि नाकाबन्दी लगाउँदा हेलिकप्टरबाट चामल मगाउनु पर्ने थिएन होला र ४५ सालबाट पाठ सिकेर अघि बढेको भए ७२ सालको नाकाबन्दीले नागरिक हायलकायल हुनुपर्ने थिएन होला । पौडी खेल्न हेरेर सिकिँदैन, तलाउमा हाम फाल्नुपर्छ, एक-दुई पटक डुब्नुपर्छ । अहिले हामी डुबेका छौँ अब पौडिने प्रयत्न गरौँ, यो हाम्रो अन्तिम प्रत्यन्त हुनेछ । हाम्रो राष्ट्रियता भारतबाट जहिले पनि खतरामा छ भन्ने कुराको तथ्य खोज्न कुनै अभिलेखहरुको खोजी गर्न आवश्यक छैन । भर्खरै नयाँ संविधान जारी गर्ने समयमा भारतले देखाएको रबैयाले नेपालप्रति भारतको दृष्टिकोण कस्तो छ भन्ने कुरा छर्लङ्ग भएको छ । संविधानसभाको निर्वाचनपश्चात बनेको संविधानसभाको ९० प्रतिशत बहुमतले निर्माण गरेको संविधानमा असन्तुष्टि जनाउँदै भारतले जसरी नेपाल माथि अघोषित नाकाबन्दी लगाइरहेको छ, पक्कै पनि स्वाभीमानी नेपालीका लागि यो सह्यै हुन सक्दैन ।

हामीले लेखेको संविधानका बुँदाहरु संशोधन गर्न हामीलाई सुझाउने भारत को हो ? के हामी नेपालीहरु भारतको दास हो ? पक्कै पनि होइन । नेपाल एउटा सार्वभौम मुलुक हो र नेपाली सार्वभौम सत्ता सम्पन्न मुलुकका नागरिक हुन । त्यसैले अब हामी भारतीय हस्तक्षेपका विरुद्ध लड्नु पर्छ । भारतको बिरोध गर्नुपूर्व हाम्रो खेतबारीमा पलाएको बनमारा उखेलेर फालौँ, सरकारको आलोचना गर्नुपूर्व बाँझो खेतमा धान रोपौँ, बारीमा कोदो र मकै उमारौँ । आफ्नो खेत बाँझो राखेर छिमेकमा धान किन्न जाने अनि छिमेकीले धान दिएन भनेर किचकिच् गर्नुको कुनै अर्थ हुँदैन। तर, स्वाभिमानको लडाई भारतको विरोध गरेर मात्र सम्भव छैन । किनकी हामी स्वयम् आत्मनिर्भर बन्नतर्फ लाग्नुपर्छ । भारतको आलोचना गर्नुपूर्व हाम्रो खेतबारीमा पलाएको बनमारा उखेलेर फालौँ, सरकारको आलोचना गर्नुपूर्व बाँझो खेतमा धान रोपौँ, बारीमा कोदो र मकै उमारौँ । हो, अब हाम्रो राष्ट्रियताको लडाई खेतबारीबाट सुरु हुनुपर्छ । ठूला देशहरु अत्याधुनिक हतियारको प्रयोग गरेर राष्ट्रका खातिर लडिरहेका छन् हामी कुटो कोदालोले लड्नु पर्छ । आफ्नो खेत बाँझो राखेर छिमेकमा धान किन्न जाने अनि छिमेकीले धान दिएन भनेर किचकिच् गर्नुको कुनै अर्थ हुँदैन, त्यसैले आफ्नै घरमा अन्न उब्जाउने प्रण गरौँ, राष्ट्रियताको लडाई पक्कै पेचिलो बन्नेछ । सरकार सिंहदरबारबाट राष्ट्रिय स्वाधीनताको लडाई लड्, नागरिक गाउँ गाउँबाट लड्नेछन् । यो लडाई अलि फरक खालको लडाई हुनेछ, यसमा कसैले कसैकाप्रति लक्षित गरेर भाषणबाजी गर्दै हिड्दैन । प्रधानमन्त्रीज्यूलाई मेरो सुझाव छ, तपाई हावाबाट विजुली निकाल्ने र १ बर्ष भित्र लोडसेडिङ अन्त्य गर्ने हावादारी भाषण गर्दै हिंड्नुको सट्टा देशका प्रत्येक नागरिकले बर्षभर आफूलाई आवश्यक पर्ने अन्नबाली आफै उत्पादन गर्नै पर्ने बाध्यकारी नियम बनाइदिनुहोस् । कम्तीमा गाउँका खेतबारीहरु बाँझो नरहुन् । प्रत्येक नागरिकले बर्षभरी आफूलाई आवश्यक पर्ने अन्नबाली उब्जाउन सक्यो भने पनि राष्ट्रलाई भार कम पर्छ, त्यसैले आत्मनिर्भर बन्दै राष्ट्रिय स्वाधीनताको लडाई लडौँ ।

खेतबारीबाट सुरु भएको आत्मनिर्भर सहित, राष्ट्रिय स्वाधीनताको लडाईले हामीलाई भविष्यमा भोकभोकै मर्न बाध्य पार्नेछैन । त्यो लडाईले हामीलाई माछा खान मात्र होइन, मार्न पनि सिकाउनेछ । त्यसैले म सबैलाई आव्हान गर्न चाहन्छु, कि कृषिप्रधान देशका गराहरु बाँझो रहनु भएन । हिमालमा फापर र स्याउको उत्पादन गरौँ, पहाडमा आलु, मकै र कोदो अनि तराईमा धान रोपौँ । जहाँ जे फल्छ त्यहाँ त्यहि रोपौँ । हिमालको स्याउँसंग, पहाडको कोदो साटौँला, तराईको धानसँग पहाडको मकै साटौँला । अनि बल्ल बलियो बन्नेछ हाम्रो राष्ट्रियता । जय स्वाभिमान ।

प्रतिक्रिया