माइती नेपालद्वारा तालिमका सहभागीलाई प्रमाणपत्र वितरण

इनेप्लिज २०७२ पुष १५ गते २:५१ मा प्रकाशित

इटहरी, १५ पुस । माइती नेपाल पुनः स्थापना केन्द्र इटहरीद्वारा पूर्वी नेपाल तथा देशको विभिन्न भागबाट उद्धार गरिएका चेलीबेटीलाई आत्मनिर्भर तुल्याउनका लागि यहाँ आयोजित ६ महिने सीपमूलक तालिमका सहभागीहरुलाई मङ्गलबार प्रमाणपत्र प्रदान गरिएको छ ।

सुनसरीको प्रहरी उपरीक्षक सञ्जयराज शर्माले तालिमका सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्दै उहाँले सबै चेलीलाई इमान्दारिताका साथ आफूले सिकेका सीपलाई जीवनयापनको प्रमुख माध्यम बनाउन आग्रह गर्नुभयो ।
तालिमका २० जना चेलीबेटीमध्ये १४ जनालाई तालिमको प्रमाणपत्रसँगै आ–आफ्नो गाउँ वा जिल्लामा पुनः स्थापितसमेत गरिएको छ । तालिम पाएका बीसौँ समूहका चेलीबेटीलाई माइती नेपाल तथा अरू सङ्घसंस्थाले सिलाइ कटाइ मेसिनसमेत उपलब्ध गराएपछि उनीहरु व्यावसायिक पेसामा संलग्न हुने विश्वास गरिएको छ ।

माइती नेपाल पूर्वाञ्चलको कार्यक्रम संयोजक गोविन्द घिमिरेले विभिन्न समस्यामा परेर माइती नेपालको पुनः स्थापना केन्द्रबाट तालिम पाएका चेलीबेटीले केन्द्रबाट प्राप्त ज्ञान र सीपलाई आफ्नो भावी जीवन सफल तुल्याउने कार्यमा लगाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया