खोप सेवामार्फत सरसफाइ प्र्रवद्र्धन कार्यक्रम

इनेप्लिज २०७२ पुष १४ गते ३:३० मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर(म्याग्दी), १४ पुस । फोहोरका कारणले हुने बाल मृत्युदर घटाउन म्याग्दीमा नियमित खोप सेवामार्फत सरसफाइ प्रवद्र्धन कार्यक्रम सञ्चालन भएको छ ।

स्वास्थ्य मन्त्रालयले यस वर्षदेखि म्याग्दीसहित जाजरकोट, नवलपरासी र बर्दीया जिल्लामा नमुना योजनाको रुपमा कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममार्फत एक वर्षमुनीका बालबालिकाको अभिभावकलाई लक्षित गरेर सरसफाइ प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गरिने जिल्ला जनस्वास्थ्य प्रमुख रोशन न्यौपानेले बताउनुभयो । उहाँका अनुसार खोप सेवाको दिगोपना र फोहोरका कारण हुने बाल मृत्युदर घटाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

स्वास्थ्य संस्थामा बालबालिकालाई खोप लगाउन आउने अभिभावकलाई स्वास्थ्यकर्मीले खेल र नाटकमार्फत सरसफाइसम्बन्धी सन्देश प्रवाह गराउन थालेका छन् ।

सरसफाइको कमीले बालबालिकालाई झाडापखला, टाइफाइड, जुका जस्ता स्वास्थ्य समस्या देखिने गरेको छ । “सरसफाइको कमी बाल मृत्युदरको दोस्रो कारणको रुपमा रहेको छ”–जनस्वास्थ्य अधिकृत नारायप्रसाद चौधरीले भन्नुभयो, “सरसफाइमा अभिभावक सचेत बन्न सकेमा फोहोरजन्य रोग र बाल मृत्युदर घटाउन सकिन्छ ।”

वाटर एडको सहयोगमा सञ्चालित कार्यक्रमअन्तर्गत छ महिनाको उमेरसम्म बच्चालाई स्तनपान मात्र गराउन, राम्ररी पकाएको तथा सुरक्षित खाना खुवाउने र साबुन पानीले हात धुँदा स्वास्थ्यमा हुने फाइदाको विषयमा जानकारी गराइनेछ ।

यसैगरी दूध र पानी उमालेको मात्र खुवाउने तथा सधैँ सफा चर्पीको प्रयोग गर्ने र बच्चाको दिसा चर्पीमै फाल्न लगाउने विषयलाई पनि कार्यक्रमले जोड दिएको जनस्वास्थ्य अधिकृत चौधरीले बताउनुभयो ।

प्रतिक्रिया