पर्यटन नेपाल विकासको महत्वपूर्ण आधार: मन्त्री पोखरेल

इनेप्लिज २०७२ पुष १३ गते १३:२१ मा प्रकाशित

ananda-pokhrelपोखरा, १३ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले पर्यटन नेपाल विकासको महत्वपूर्ण आधार भएको बताउनुभएको छ ।

रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा पर्यटकीय नगरी पोखरामा आजदेखि सुरु १७औँ पोखरा सडक महोत्सवको उद्घाटन गर्दै उहाँले नेपाल आफैँमा प्रचुर पर्यटकीय सम्भावना बोकेको स्थल भएका कारण यी पर्यटकीय सम्भावनालाई देशको आर्थिक विकासका लागि उपयोग गनुपर्ने बताउनुभयो ।

पोखरा नेपालको पर्यटकको राजधानी भएको उल्लेख गर्दै उहाँले पोखराको पर्यटकीय विकासलाई यस आसपासका लुम्बिनी, मुक्तिनाथ, ढोरपाटनलगायत स्थलसँग जोडेर अघि बढाउनुपर्ने बताउनुभयो । आगामी दुई महिनाभित्रमा पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास हुने उल्लेख गर्दै मन्त्री पोखरेलले विमानस्थलले यहाँको पर्यटकीय विकासलाई थप उचाइमा पु¥याउने बताउनुभयो । पर्यटनलाई धार्मिक एवम् सांस्कृतिक पक्षसँग पनि जोड्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “नेपाल विभिन्न जातजाति, भाषाभाषीको विविधतायुक्त राष्ट्र भएका कारण यहाँका संस्कृतिलाई समेट्ने गरी सरकार राष्ट्रिय सांस्कृतिक सङ्ग्रहालय बनाउने योजनामा छ ।”

क्षेत्रीय प्रशासक केदारबहादुर अधिकारीले देशमा रोजगारी अभिवृद्धि र वैदेशिक आयको महत्वपूर्ण क्षेत्र पर्यटन भएको बताउँदै यसले राष्ट्रिय अर्थतन्त्रमा पनि विशेष भूमिका निर्वाह गर्ने बताउनुभयो । देशको विद्यमान असहज अवस्थामा पनि पर्यटकलाई लक्षित गरी रेवानले गरेको महोत्सव यहाँको पर्यटकीय विकासका लागि महत्वपूर्ण हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले उत्तर (चीन)तर्फको नाका कोरला र सुनौली जोड्न सक्ने पोखरा क्षेत्र आफैँमा धेरै पर्यटकीय सम्भावनायुक्त क्षेत्र भएको बताउनुभयो । पोखराको विकास नेपालको पर्यटनको विकास भएको बताउँदै उहाँले पर्यटनको विकासले नै नेपालको समग्र अर्थतन्त्रको विकासमा टेवा पुग्ने धारणा राख्नुभयो ।

रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले भूकम्प र नाकाबन्दीका कारण प्रभावित पोखराको पर्यटनलाई पूर्ववत् अवस्थामा ल्याउन महोत्सव उपयोगी हुने विश्वास लिइएको बताउनुभयो । महोत्सवका संयोजक दोर्जे लामाले पोखरा धेरै पर्यटकीय सम्भावना भएको क्षेत्र भएका कारण यहाँ अन्तर्राष्ट्रिय विमानस्थलको काम चाँडै सम्पन्न गर्दै यहाँका तालतलैया आदिको संरक्षणमा सरकारको सक्रियता आवश्यक हुने बताउनुभयो ।

‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ नाराका साथ सुरु महोत्सव यही पुस १७ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया