जानकी प्रहरी चौकीमा पेट्रोल बम प्रहार

इनेप्लिज २०७२ पुष १३ गते १२:५८ मा प्रकाशित

petrol-bomमहेन्द्रनगर (धनुषा) १३ पुस । विगत पाँच महिनादेखि मधेसी मोर्चाद्वारा जारी मधेस आन्दोलन पछिल्लो दुई दिनदेखि पुनः उग्ररुप लिँदा आज जानकी प्रहरी चौकीमा पेट्रोल बम प्रहार भएको छ ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि विराटनगरमा प्रहरीले गरेको लाठी चार्जपछि जनकपुरमा भइरहेको प्रदर्शनक्रममा सो घटना भएको हो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित मधेसकेन्द्रित दल तथा सङ्घसङ्गठनले चौकीमा बम प्रहार गरेपछि प्रहरीले दर्जन राउन्ड सेल अश्रुग्यास प्रहार गरेको छ । त्यस्तै, जनकपुरका विभिन्न चोकमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा जितेन्द्र ठाकुर र जलेश्वरका मनिष गम्भीर घाइते भएका छन् ।

त्यसैगरी, मोर्चा र मधेस क्रान्ति सङ्घर्ष समितिले जनकपुर–ढल्केवर सडकखण्डको लक्ष्मीनियाँमा प्रदर्शन गर्दै एक दर्जन सवारीसाधनमा तोडफोड गरेका छन् ।

बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले ज ४ प ७०८८, ज ४ प ६८४५, ज ५ प २८१३, ना ३२ प ८४३१ नम्बरसहित एक दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरेको प्रहरीले जनाएको छ ।

यसैबीच, प्रहरी र आन्दोलनकारीबीचको अवस्था असामान्य बन्दै गएपछि घटनास्थलमा पुगेका तीन सञ्चारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अभिलाप दैनिकका रामहृदय यादव, अप्पन टिभीका राकेश मिश्र र रिकी साहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । साथै पत्रकारहरूले क्यामरामा कैद गरेका फुटेज नष्ट गर्न लगाइएको छ ।

प्रदर्शनका कारण जनकपुर बजार, शिक्षण संस्था, कलकारखाना, उद्योग यातायात पूर्णरुपमा ठप्प छन् ।

प्रतिक्रिया