सिँचाइसँग सम्बन्धित आयोजना समयमै सम्पन्न गर्न अर्थमन्त्रीको निर्देशन

इनेप्लिज २०७२ पुष १३ गते १२:५३ मा प्रकाशित

bishnu paudelकाठमाडौँ, १३ पुस । अर्थमन्त्री विष्णु पौडेलले सिँचाइ मन्त्री उमेश यादवसहित उक्त मन्त्रालयसँग सम्बन्धित विभिन्न सिँचाइ तथा नदी नियन्त्रणसँग सम्बन्धित आयोजनाका प्रमुखलाई बोलाएर प्रगति विवरण माग्नुभएको छ ।

चालु अवस्थामा रहेका आधा दर्जनभन्दा बढी आयोजनाको कार्य प्रगति र तोकिएको समयमा कार्य सम्पन्न हुने वा नहुने अवस्थाबारे अर्थमन्त्री पौडेलले मन्त्रालयमा बोलाएर जानकारी लिनुभएको हो ।

अर्थमन्त्री पौडेलले बबई सिँचाइ, भेरी बबई बहुउद्देश्यीय, रानी जमरा, सिक्टा, सुनकोसी–मोरङ, सुनकोसी–मरिना, सुनकोसी–कमला, कालीगण्डकी तिनाउ डाइभर्सनलगायतका आयोजनासँग सम्बन्धित महानिर्देशक तथा आयोजना प्रमुखलाई बोलाएर प्रगति विवरणका विषयमा छलफल गर्नुभएको हो ।

अर्थमन्त्रीका प्रेस सल्लाहकार मोहन चापागाईंका अनुसार सिँचाइ तथा नदी नियन्त्रणसँग सम्बन्धित आयोजनाका प्रमुखसँगको छलफलमा अर्थमन्त्री पौडेलले मन्त्रालय मन्त्रालयबीच समन्वय गरेर ठूलो आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो ।

अर्थमन्त्री पौडेलले भन्नुभयो – “मुलुकको विकासका लागि महत्वपूर्ण मानिएका ठूला योजनालाई तोकिएको समयमै सम्पन्न गर्नुहोस् । यसले देशको अर्थतन्त्र तथा जनताको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने आयोजनाको काम ढिला हुनु हुँदैन ।”

उहाँले विकास आयोजनालाई पूरा गर्न अर्थ मन्त्रालय साधक बन्ने स्पष्ट पार्दै आफूले सुनसरी–सप्तरीका सबै सांसद्सहितको भेला बोलाएर अगाडि बढ्ने बताउनुभयो ।

सम्बन्धित मन्त्रालयबीचमा समन्वय गरेर भइरहेको ढिलासुस्तीलाई कम गर्न सकिने बताउँदै सिँचाइ मन्त्री यादव एवम् प्रमुखसँग उहाँले भन्नुभयो– “अर्थमन्त्रालय, मन्त्रिपरिषद् वा संसद्मा कहाँ समस्या छ ? त्यो निराकरण गर्न म तयार छु । आयोजना समयमै सम्पन्न हुनुप¥यो ।”

सिँचाइ मन्त्री यादवले आफ्नो मन्त्रालसँग सम्बन्धित आयोजनालाई समयमै सम्पन्न गराउन आफूले पहल गरिरहेको र त्यसका लागि स्रोत साधनको कमी हुन नहुने बताउनुभएको थियो । अर्थ लोकदर्शन रेग्मी र सिँचाइ सचिव अनुपकुमार उपाध्यायले राष्ट्रिय गौरवका आयोजनालाई चाँडो अगाडि बढाउने र त्यसका लागि स्रोत साधनको कमी नहुने बताउनुभएको थियो ।

आयोजना प्रमुखले बजेटको अभाव, नदीजन्य निर्माण सामग्रीको अभाव, जग्गा प्राप्ति एवम् इन्धन अभावका कारण आयोजना निर्धारित समयमा सम्पन्न गर्न कठिनाइ भएको बताउनुभएको थियो । उहाँहरुले आगामी दिनमा आयोजनालाई द्रुत गतिमा अगाडि बढाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया