चिसोले कठ्याङ्ग्रिएर मर्नेको सङ्ख्या १३ पुग्यो

इनेप्लिज २०७२ पुष १३ गते १२:५० मा प्रकाशित

दोलखा, १३ पुस । यस जिल्ला चिसोबाट मृत्यु हुने भूकम्प प्रभावित वृद्धवृद्धाको सङ्ख्या दिन प्रतिदिन बढ्दै जान थालेको छ । विभिन्न गाविसमा गरी आज थप पाँच जनाको चिसोका कारण मृत्यु भएको छ ।

भूकम्पले घर भत्किएपछि जस्ताको टहरा र पालमा बस्दै आएका वृद्धवृद्धा चिसोका कारण बिरामी पर्ने र मृत्यु हुने क्रम पछिल्ला दिन बढ्दै गएको छ ।

पछिल्लो तथ्याङ्कअनुसार दोलखा चङ्खु गाविस–७ की ५५ वर्षीय मिठ्ठु तामाङ, लापिलाङ–३ का ७३ वर्षीय गम्भीर थामी, पवटी–५ का ५८ वर्षीय बमबहादुर तामाङ, शैलुङ्गेश्वर–५ का ८२ वर्षीय देवकुमारी कार्की र कालिञ्चोक–१ की ६६ वर्षीय सानुमाया थामीको चिसोका कारण बिरामी परी मृत्यु भएको हो ।

यसअघि भूकम्पले घर भत्किए पछि जस्ताको टहरामा बस्दै आएका मेलुङ–८ का ६८ वर्षीय विष्णुमाया श्रेष्ठ र ७० वर्षीय जगतबहादुर श्रेष्ठ, दोलखा डाँडाखर्क– ८ का ९५ वर्षीय धनराज तामाङ, झुले गाविस–७ का ८६ वर्षीय लालबहादुर कार्की, झुले गाविस–४ का ८३ वर्षीय जानुका कार्की, गैरीमुदी गाविसका ६८ वर्षीय लालबहादुर तामाङ, बुलुङ गाविस–८ का ६२ वर्षीय भक्तबहादुर मगर र जफे गाविस–१ का ७९ वर्षीय भद्रकुमारी पोखरेलको चिसोका कारण मृत्युु भएको स्थानीयवासीले बताएका थिए ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले दोलखाको केही गाविसमा वृद्धवृद्धाको मृत्यु भएको जानकारी आएको भए पनि चिसोकै कारण मृत्यु भएको हो भने तथ्य प्रमाणित भइनसकेकोे बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख माधव लम्सालले दोलखाको विभिन्न ठाउँमा मृत्यु भएका मानिस चिसोको कारणभन्दा पनि दम, मिर्गौला जस्ता समस्याले पीडित रहेको बुझिएको बताउनुभयो । मृत्यु भएका अधिकांश दीर्घरोगी भएको उहाँको भनाइ छ ।

भूकम्पले घर भत्किए पछि टहरामा बसेका बिरामी, वृद्धवृद्धा, बालबालिकाले स्वास्थ्यमा कुनै समस्या भए तत्काल स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न र तातो कपडा लगाएर बस्न उहाँले सुझाव दिनुभएको छ । मृत्यु हुनेहरुको सङ्ख्या बढेर सरोकारवालामाथि चुनौती थपिएको नागरिक समाज दोलखाका अध्यक्ष चिरञ्जीवी मास्के बताउनुहुन्छ ।

सरकारले भूकम्प प्रभावित जिल्लामा राहत तथा पुनःस्थापनाको काम प्रभावकारी ढङ्गले अगाडि बढाउन नसक्दा घरवारविहीन बनेका पीडित धमाधम बिरामीसमेत पर्न थालेका छन् । स्थानीय विकास अधिकारी सीता परियारका अनुसार दोलखाका भूकम्पपीडितलाई न्यानो कपडाका लागि सरकारले दिने भनेको रु १० हजार वितरण सुरु गरिएको छ ।

जिल्लाको भूकम्पपीडितको सङ्ख्याको हिसाबले रु ८५ करोड ८५ लाख ८० हजार आवश्यक पर्नेमा अहिले रु ५० करोडमात्र प्राप्त भएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया