काठमाडौँ, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले डोटीका पहिरोपीडितका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) पार्टी कार्यालयमा डोटी जिल्लाका सांसदहरुको भेटमा उहाँले पहिरोपीडित जनतालाई राहत दिन, पुनःनिर्माणको काम अघि बढाउन र भत्किएका संरचनाको सन्दर्भमा वैकल्पिक व्यवस्था गर्न तत्काल आफूले सम्बन्धित निकायलाई निर्देशन दिने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले जनतालाई सुरक्षा, न्याय, राहत र सहयोग पुर्याउने दायित्व सरकारको भएकाले सरकारले आफ्नो दायित्व पूरा गर्नेछ भन्नुभयो ।
डोटीको सर्वदलीय प्रतिनिधिमण्डलले गएको साउन २५ गतेको भीषण वर्षा र पहिरोले जिल्लाका डौड र तोलेली गाविसका विभिन्न क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति पुर्याएको, सिँचाइका कुलो, विद्यालय भवन, तटबन्ध, सडक, झोलुङ्गे पुल क्षतिग्रस्त भएको जानकारी गराएको थियो ।
भेटमा सांसद वीरबहादुर बलायर, गौरी ओली र प्रेम आलेसहितको प्रतिनिधिमण्डलले ती दुई गाविसलाई पुनःनिर्माणको प्याकेजमा पारी छिटोभन्दा छिटो राहत उपलब्ध गराउन र ध्वस्त संरचनाको निर्माण अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यसैगरी, प्रधानमन्त्रीसँग आजै तुलसीलाल स्मृति प्रतिष्ठानका पदाधिकारीले भेट गरी ललितपुरको च्यासलमा रहेको प्रतिष्ठानको भवन निर्माणका लागि बजेटको व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो ।
त्यस्तै, सहिद रामनाथ प्रतिष्ठान र कलेज रहेको क्षेत्र काठमाडौँको चमती र खुसिबुका स्थानीय बासिन्दाले प्रधानमन्त्रीसँग भेटी स्थानीय समस्याको समाधानका लागि आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
उहाँहरुले त्यस क्षेत्रमा विष्णुमति नदीमा मितेरी पुल निर्माण गर्न, बस्तीमा रहेको बिजुलीको हाइटेन्सन लाइन हटाउन, कच्ची सडकमा कालोपत्र गरिदिनेलगायतका समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया