अग्नीपीडित विद्यार्थीलाई निःशुल्क पठनपाठनको व्यवस्था

इनेप्लिज २०७२ पुष १२ गते ६:२२ मा प्रकाशित

खोटाङ, १२ पुस । दिक्तेलका अग्नीपीडित तीन छात्रछात्रालाई अध्ययनरत विद्यालयले कक्षा १० सम्म निःशुल्क पठनपाठनको व्यवस्था मिलाएको छ ।

गत पुस–२ गते भएको भीषण आगलागीबाट सबैथोक गुमाएका दिक्तेल नगरपालिका–२ रत्नपार्कका हीरालाल पुरीका तीन छोराछोरीलाई दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कुलले कक्षा १० सम्म निःशुल्क पठनपाठनको व्यवस्था मिलाएको हो ।

कक्षा ९ मा पढ्दै गरेकी सङ्गीता पुरी, कक्षा ७ मा पढ्दै गरेका सञ्जीव पुरी र युकेजीमा अध्ययरत सविना पुरीलाई राहतस्वरुप कक्षा १० सम्म निःशुल्क पढ्ने व्यवस्था मिलाइएको स्कुलका शिक्षक धनकर्ण श्रेष्ठले बताउनुभयो । आगलागीबाट गाँस, बास र कपास गुमाएर बिचल्लीमा परेका तीन विद्यार्थीले राहतस्वरुप विद्यालयबाट रु पाँच लाख बराबरको शुल्क छुट पाएको जनाइएको छ ।

पुरीलाई यसअघि उद्योग वाणिज्य सङ्घ, खोटाङले राहतस्वरुप रु एक लाख एक हजार १०० प्रदान गरिसकेको छ भने नेपाली काँग्रेसले रु ४५ हजार प्रदान गरेको छ ।

आगलागीबाट पुरीको कपडा पसल राखिएको तीनतले घर तथा १६ तोला सुन, चार तोला चाँदी, अन्नपात, भाँडाकुँडा, फर्निचर, टिभी, एलसिडी, कम्प्युटर, फ्रिज, कागजातलगायत जलेर नष्ट भएको थियो ।

विद्युत् प्रवाह भई सल्किएको आगलागीमा पुरी परिवारको रु तीन करोड ६५ लाख ५६ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट हीरालाल पुरी, केशव दाहाल, दानबहादुर मगर, रविध्वज राई र हर्कबहादुर राईको घर नष्ट हुँदा रु पाँच करोड २७ लाखभन्दा बढीको धनमाल नष्ट भएको थियो ।

प्रतिक्रिया