इन्धन तस्करी गरेर गुजारा चलाउँदै

इनेप्लिज २०७२ पुष १२ गते ६:२१ मा प्रकाशित

पथरी (मोरङ), १२ पुस । पछिल्लो तीन महिनायता इन्धनको तस्करी सबैभन्दा बढी मौलाएको छ । अघोषित नाकाबन्दीले पर्याप्त इन्धन नभित्रिँदा नेपालमा पेट्रोलमात्रै होइन खाना पकाउने ग्यास, डिजेलको अभावको मौका छोपेर इन्धनको तस्करी बढेको हो ।

मोरङ भाथिगछका दिलचन साहको दैनिकी फेरिएको दुई महिना भयो । उहाँको एकाएक कमाइ बढेको छ । भारतीय सीमावर्ती बुधनगरका मनिराम राजवंशीको पनि काम फेरिएको अढाई महिना भयो । उहाँहरु बिहान ५ बजे उठेर डिजेलसहित अन्य इन्धन बोकेर विराटनगरतर्फ आउनुहुन्छ । उहाँहरूजस्ता धेरै व्यक्तिले सीमावर्ती खरकट्टाबाट पेट्रोल, डिजेल, ग्यास खरिद गरेर विराटनगर ल्याई बिक्री गर्ने दैनिकी बनेको छ ।

बन्दअघि दिलचन घर बनाउने राजमिस्त्रीको काम गर्नुहुन्थ्यो । “लामो बन्दले भोकभोकै बस्नुपर्ने अवस्था आएपछि विकल्पका रुपमा डिजेलको व्यापार गर्न थालेको हुँ” – उहाँ भन्नुहुन्छ । “केटाकेटीलाई भोकै राख्नु त भएन नि ।” राजमिस्त्रीबाट दैनिक रु ५०० कमाइ हुन्थ्यो उहाँको । तर अहिले दैनिक रु चार हजारसम्म आम्दानी हुने गरेको छ । दिलचनले भन्नुभयो – “गर्न सके दैनिक रु चार हजारसम्म कमाइ हुन्छ ।”

घर निर्माणमा मात्रै होइन उद्योग कलकारखानाका मजदुरहरू पनि तेल तस्करीमा जमेर लागेका छन् । इन्धनको कारोबारमा संलग्न हरिनगराका गुद्रे हेमरमका अनुसार एक लिटरमा कम्तीमा रु २० नाफा हुन्छ । “दुईपटकमा २०० लिटर ल्यायो भने रु चार हजार दिनको कमाइ हुन्छ” – औँला भाँच्दै उहाँ भन्नुहुन्छ – “आखिर काम गरेर खाँदा के बिग्रिन्छ, आम्दानी पनि राम्रै भइरहेको छ ।” सीमावर्ती क्षेत्रमा प्रतिलिटर रु १०० मा डिजेल पाइन्छ । उनीहरूले विराटनगरमा रु १२० देखि रु १२५ प्रतिलिटरमा बिक्री गर्छन् ।

सो क्षेत्रमा दैनिक एक सयभन्दा बढी व्यक्तिले इन्धन ल्याउने गरेको बेचन टुडुको भनाइ छ । पेट्रोल प्रतिलिटर रु १४० मा बिक्री गर्छन् । विराटनगर बसपार्कमा इन्धन तस्करको हरेक दिन बिहान मेला नै लाग्ने गरेको पाइन्छ । कोही ग्यासको मोलमोलाइ गरिरहेका भेटिन्छन् भने कोही पेट्रोल, डिजेल र ग्यासको अर्डर लिइरहेका हुन्छन् । कोही राजधानी जाने रात्रिबसमा ग्यास र इन्धनका ड्रम लोड गरिरहेका भेटिन्छन् ।

यसरी आउने इन्धन राजधानीका साथै इटहरी, धरान, धनकुटासहित पूर्वी पहाडी जिल्लामा समेत लगिने गरेको छ । मङ्गलबारदेखि विराटनगरबाट यातायात सञ्चालन भएपछि तस्करीको इन्धन बाहिर पठाउन सहज भएको छ । स्थानीयवासी रोशनराज बाना भन्नुहुन्छ – “पैसा तिरेपछि जति पनि इन्धन पाइन्छ ।” केही समययता इन्धन खरिद–बिक्री गर्ने हाटबजारजस्तो देखिन थालेको छ विराटनगर बसपार्क । सिलिन्डरसहितको भरेको ग्यासको रु छ हजार ५०० सम्म लिने गरेका छन् ।

प्रतिक्रिया