ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

इनेप्लिज २०७२ पुष १२ गते ६:२१ मा प्रकाशित

भक्तपुर, १२ पुस । जिल्लाको सूर्यविनायक नगरपालिका नंखेलका ७० वर्ष उमेर नाघेका २२७ जना ज्येष्ठ नागरिकलाई रु दुई लाख ३० हजार बराबरको न्यानो कपडा वितरण गरिएको छ ।

मानवीय आस्था नेपालले शनिबार आयोजना गरेको कार्यक्रममा संस्थाका संरक्षक एवम् पूर्वउद्योग मन्त्री महेश बस्नेतले ज्येष्ठ नागरिकलाई जाडोका लागि न्यानो कपडासहित ब्लाङ्केट र बिस्कुट प्रदान गर्नुभएको हो ।

कार्यक्रममा उहाँले नेपालको संविधानले आमनागरिकको सुनिश्चित गरेको हकका बारेमा जानकारी दिन सरकारले सञ्चालन गरेको अभियान सफल पार्न सबै राजनीतिक दलको सहयोग र साथको आवश्यक रहेको बताउनुभयो ।

उहाँले संविधानले प्रदान गरेको हकका बारेमा जनतालाई बुझाउन ढिलो भएको उल्लेख गर्नु भयो ।
मानवीय आस्था नेपालले जिल्लाको मध्यपुरथिमि नगरपालिका वडा नं १६ स्थित लोकन्थली उपस्वाथ्य चौकीलाई पनि रु दुई लाख ६० हजार बराबरको औषधि प्रदान गरेको छ । बस्नेतले उपस्वास्थ्य चौकीका प्रमुख सुधीर बानियाँलाई विभिन्न रोगका ३८ प्रकारका औषधि हस्तान्तरण गर्नुभएको थियो ।

उहाँले लोकन्थलीमै २५ जना दृष्टिविहीनलाई चामल र जाडोका लागि न्यानो लत्ताकपडा, ३० जना दलित परिवारका बालबालिकालाई न्यानो कपडाको सेट वितरण गर्नुभयो । संस्थाले एनआरएन लक्जम्बरको सहयोगमा सङ्कलन गरेको रु सात लाख बराबरको न्यानो कपडा, ब्लाङ्केट, जस्तापाता र चामल अस्थायी शिविरमा बस्दै आएका भूकम्पपीडितलाई वितरण गरेको छ ।

मानवीय आस्था नेपालले विगत एकसातामा भक्तपुर जिल्लाका एक महिनादेखि १० वर्ष उमेर समूहका ४०० भूकम्पपीडित बालबालिकालाई जाडोमा लगाउने न्यानो कपडाको सेट, टहरामा बस्दै आएकालाई ९० ब्लाङ्केट, त्रिपाल तथा टेन्टमा बस्दै आएका ५० परिवार भूकम्पपीडितलाई जस्ताको टहरा बनाउन प्रतिपरिवार एक बन्डलका दरले ५० बन्डल जस्ता, शारीरिक अपाङ्गता भएका ११ भूकम्पपीडितका परिवारलाई एक÷एक बोरा चामल वितरण गरेको संस्थाका महासचिव रवीन्द्र सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया