निःशुल्क आँखा शिविर सम्पन्न, ५५० जना लाभान्वित

इनेप्लिज २०७२ पुष १२ गते ६:१९ मा प्रकाशित

eyeबाबियाचौर (म्याग्दी), १२ पुस । म्याग्दीको दुई छुट्टाछुट्टै स्थानमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरबाट ५५० जना लाभान्वित भएका छन् ।

बेनीमा रहेका लायन्स क्लबले रेडक्रसको स्थानीय उपशाखासँगको सहकार्यमा पश्चिम म्याग्दीको बाबियाचौर र उत्तरी भेगको पोखरे बगरमा शिविर आयोजना गरेको थियो ।

बाबियाचौरमा आयोजित शिविरमा ३८५ जनाले आँखाको परीक्षण गराएकामा १७ जनामा मोतियाबिन्दुको समस्या पाइएको लायन्स क्लब अफ बेनी म्याग्दीका अध्यक्ष कुविर श्रेष्ठले बताउनुभयो । यसैगरी पोखरेबगरमा १६५ जनाको आँखा परीक्षण भएकामा पाँचजना मोतियाबिन्दुका बिरामी पहिचान भएका छन् ।

दुईवटै स्थानमा पहिचान भएका मोतियाबिन्दुका बिरामीलाई जिल्ला अस्पताल, बेनीमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको लायन्स क्लब अफ बेनी सिटीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । पोखरेबगरको शिविरबाट घार, दोवा, भुरुङ–तातोपानी, दाना, शिख र नारच्याङ गाविसका बिरामीले सेवा लिएका थिए ।

बाबियाचौरको शिविरमा बाबियाचौर, अर्मन, बरञ्जा, कुहुँ, दरवाङ, निस्कोटलगायतका ठाउँबाट बिरामी आएको लायन चन्द्रकुमार बराइलीले बताउनुभयो ।

शिविरमा निःशुल्क आँखा परीक्षणका साथै परामर्श र औषधि वितरणको सुविधा दिइएको थियो ।

बेनी नगरपालिका– १ घर भई हाल मलेसियामा व्यवसाय गर्दै आउनुभएका दीपक बोगटीको आर्थिक सहयोगमा शिविर आयोजना गरिएको हो । यसअघि पर्वतको मल्लाज माझफाँट, म्याग्दीको पाखापानी र भगवतीमा निःशुल्क आँखा शिविर सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया