पोखरा, १२ पुस । रेस्टुराँ एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले नयाँ अँग्रेजी वर्ष २०१६ को अवसरमा गर्न लागेको १७औँ सडक महोत्सवको पूर्वसन्ध्यामा लेकसाइड क्षेत्रका ६० प्रतिशतभन्दा बढी होटलमा अग्रिम बुकिङ भएको छ ।
महोत्सवको जानकारी गराउने उद्देश्यले शनिबार आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक दोर्जे लामाले महोत्सवमा आउनका लागि आन्तरिक तथा बाह्य पर्यटकको अत्यन्त उत्साह देखिएको बताउनुभयो ।
‘सडकमै खाउँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको महोत्सवको तयारी लगभग अन्तिम चरणमा पुगिसकेको संयोजक लामाले जानकारी गराउनुभयो ।
उहाँका अनुसार आन्तरिक पर्यटन प्रवद्र्धनको लक्ष्यसहित गर्न लागिएको महोत्सवमा होटल तथा रेस्टुराँको मेनुमा विशेष छुटको व्यवस्था गरिएको छ ।
लेकसाइड क्षेत्रको सहिदचोकदेखि डिहीको पाटनसम्मको तीन किमी क्षेत्रलाई समेटेर गर्न लागिएको महोत्सवमा विभिन्न स्वदेशी तथा विदेशी खानाका परिकारसहित भरपुर सांस्कृतिक मनोरञ्जन गराउने लक्ष्य राखिएको रेबानका अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी गराउनुभयो ।
उहाँका अनुसार मेलालाई लक्षित गरी प्रभावकारी सुरक्षा व्यवस्था, स्वास्थ्य शिविर, यातायात, दमकललगायतका अत्यावश्यकीय पक्षको व्यवस्थापन गरिसकिएको छ ।
महोत्सवमा विभिन्न जातजातिका कला र संस्कृति झल्किने नाचगान र झाँकी प्रदर्शन गरिने र संस्कृतिको प्रचारप्रसार एवम् जगेर्नालाई समेत दृष्टिगत गरी देवीदेवताको अवतारमा आधारित लोपोन्मुख बालन नाच पनि देखाइने रेवानले जनाएको छ ।
प्रतिक्रिया