घोरेपानीका होटलमा ५० करोड लगानी

इनेप्लिज २०७२ पुष ११ गते ९:२१ मा प्रकाशित

म्याग्दी, ११ पुस । राउण्ड अन्नपूर्ण पद्यात्राले समेटिएको म्याग्दीको घोरेपानी र पुनहिल क्षेत्रको भम्रणमा आउने पर्यटकको आगमन बढेसँगै होटल तथा पर्यटन व्यवसायी होटलको क्षमता विस्तारमा लागेका छन् ।

पर्यटकलाई लक्षित गरी घोरेपानीमा सञ्चालन गरिएका होटलमा अहिले करिब रु ५० करोड लगानी भएको होटल ब्यवस्थापन समितिका अध्यक्ष जुनु पुनले बताउनुभयो ।

“पर्यटकलाई सहजरुपमा खाना र बस्नको लागि हामीले होटलको क्षमता विस्तार गरेका छाँै, पर्यटकलाई आरामदायी बसोबासको प्रवन्ध मिलाउनु पर्यटन व्यवसायीको दायित्व हो, अध्यक्ष पुनले भन्नुभयो ।

हाल घोरेपानीमा रु साढे एक करोड लगानीमा सात वटा होटलको क्षमता विस्तार गरिएको छ भने दुई करोड बढी लगानीमा चार वटा होटलको स्तरउन्नति भइरहेको स्थानीय पर्यटन ब्यवसायी टेकसर बुद्धुजा पुनले जानकारी दिनुभयो ।

त्रिचालिस घरधुरी रहेको घोरेपानीमा २२ वटा पर्यटकीय होटल सञ्चालनमा छन् भने अन्य घरधुरीले समेत खाजा घरलगायतका सानो लगानीको ब्यवसाय सञ्चालन गरेको उहाँको भनाइ छ ।

घोरेपानीमा रहेका होटलमा हाल दैनिक आठ सय जनालाई खाने र बस्ने सुविधा रहेको छ । घोरेपानीका होटलमा पर्यटकलाई वाईफाई इन्टरनेटको सुविधासमेत उपलब्ध छ ।

वार्षिक ३० हजार बढी बाह्य पर्यटक भित्रने घोरेपानी क्षेत्रमा स्थानीयले पर्यटकको सुविधाको लागि पदमार्गलगायतका पर्यटन पूर्वाधार निर्माणमा जोड दिएका छन् ।

लालीगुराँसको संरक्षण र पुनहिलमा थप पूर्वाधार विस्तार गर्ने कामलाई समेत जोड दिइएको समितिका उपाध्यक्ष सुनिल पुनले जानकारी दिनुभयो ।

मनोरम हिमश्रृङ्खलाको अवलोकन र प्राकृतिक सौन्दर्यतामा रमाउनको लागि घोरेपानी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्दै आएको छ ।

प्रतिक्रिया