बालबालिकाका लागि बालश्रम मुक्त कार्यक्रम सञ्चालन

इनेप्लिज २०७२ पुष ११ गते ४:५४ मा प्रकाशित

दमौली, ११ पुस । तनहुँ जिल्लामा रहेका जामुने गाविसका अस्मिता, पोखरेली र माछापुच्छ«े इँटा उद्योगले यस वर्षदेखि बालश्रम मुक्त कार्यक्रम सुरु गरेका छन् ।

उद्योगले बाल मजदुर उन्मूलनका लागि विद्यालय पढ्ने उमेरका बालबालिकालाई विद्यालय भर्ना गराउने र छ वर्षभन्दामुनिका बालबालिकालाई उद्योगमा नै बाल विकास केन्द्र स्थापना गरी पठनपाठनको व्यवस्था मिलाएको हो ।

बाल मजदुरलाई पठनपाठनको वातावरण सिर्जना गर्नेे उद्देश्यले बेटर विक नेपाल कार्यक्रममार्फत उनीहरुलाई बालश्रम मुक्त कार्यक्रम सञ्चालन गरिएको हो । ग्लोबल फेयरनेस इनिस्चियटिभको आर्थिक तथा प्राविधिक सहयोग र एकीकृत हरित विकास नेपालको संयोजनमा ती उद्योगमा केन्द्र स्थापना गरी उनीहरुलाई अस्थायी रुपमा पठनपाठन कार्य प्रारम्भ गरिएको संस्थाका उपाध्यक्ष रामदत्त पौडेलले बताउनुभयो ।

दुई वटा बालविकास केन्द्रमा ६३ विद्यार्थी अध्ययनरत छन् । संस्थाको पहलमा सोही इँटा उद्योगमा माथिल्लो उमेरमा काम गर्ने २७ जना बालबालिकालाई पसले निमावि र जनगणपति माविमा भर्ना गरी सकिएको जानकारी उहाँले दिनुभयो ।

तनहुँ जिल्लालाई पूर्ण साक्षरता घोषणा गरिए तापनि इँटा उद्योगमा सिजनल रुपमा काम गर्ने मजदुरका बालबालिकाप्रति लक्षित कुनै पनि कार्यक्रम सञ्चालन नहुँदा संस्थाले सो कार्यक्रमलाई अगाडि बढाएको हो ।

उक्त कार्यक्रम बाल विकास केन्द्रको भवन नबन्दासम्मका लागि जिल्ला रेडक्रसद्वारा उपलब्ध गराइएको त्रिपालमा कक्षा सञ्चालन गरिएको छ । कठ्याङ्ग्रिँदो जाडोमा त्रिपालमा पठनपाठन गराउँदा समस्या परेको केन्द्रकी शिक्षिका रेनुका नेपालीले बताउनुभयो ।

सरकारी नीतिलाई आवश्यकताअनुसार परिवर्तन गर्न नसक्दा दक्ष शिक्षकको कमीले बालबालिकालाई पठनपाठनमा अग्रसरता गराउन कठिनाइ झेल्नुपरेको उद्योगका सञ्चालक बालकृष्ण घिमिरेको भनाइ छ ।

प्रतिक्रिया