दैनिक एघार घण्टा विद्युत्भार कटौती हुने

इनेप्लिज २०७२ पुष १० गते १३:२५ मा प्रकाशित

load-seddingकाठमाडौँ, १० पुस । नदीमा जलप्रवाह घटेकाले जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन घटेको भन्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत्भार कटौतीको समयमा वृद्धि गरेको छ ।

प्राधिकरणको भार प्रेषण केन्द्रकाअनुसार हप्तामा ७० घण्टा विद्युत्भार कटौती हुँदै आएकोमा आजदेखि ७७ घण्टा कटौती गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । मुलुकभित्र चालु रहेका आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदको समयमा नदीमा पानीको प्रवाह कम भएको छ । ७८० मेगावाट क्षमतामध्ये हाल प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा ३०० मेगावाट मात्रै विद्युत् उत्पादन हुँदै आएको छ ।

यस्तै भारतबाट दैनिक २३५ मेगावाट विद्युत् आयात हुँदै आएको छ । भारतको अघोषित नाकाबन्दीपछि दैनिक विद्युत्को माग बढेर हाल एक हजार ३०० मेगावाट भन्दा बढी पुगेको छ । खाना पकाउने साँझ बिहानको समयमा विद्युत्को माग अझ बढी रहेको छ ।

प्राधिकरणका भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीले विद्युत् उत्पादन कम भएका कारण विद्युत्भार कटौतीको समय वृद्धि भएको हो । प्राधिकरणले एक साता अघि मात्रै विद्युत् कटौतीको समय बढाएर दैनिक दश घण्टा पु¥याएको थियो । प्राधिकरणले सञ्चालनमा रहेका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने र चुहावट भएका क्षेत्रमा चुहावट नियन्त्रण गर्ने कामलाई अभियानात्मक रुपमा सञ्चालन गरेपनि प्रभावकारी हुन सकेको छैन ।

चुहावट बढी हुने क्षेत्रमा भने थप विद्युत् कटौती हुने भएकाले चुहावट नियन्त्रण गर्न सम्बद्ध पक्षसँग सहयोगको अपिल समेत गरेको छ । निकट भविष्यमा नै ढल्केबर– मुजफ्फपुर प्रसारण लाइनबाट थप ९० मेगावाट विद्युत् आयात हुने भएकाले विद्युत्भार केही घट्न सक्ने प्राधिकरणले जनाएको छ ।

सरकारले एक वर्षभित्र विद्युत्भार कटौती अन्त्य गर्ने जनाएपनि प्राधिकरणले दैनिक एघार घण्टा कटौती हुन थालेपछि चिसो मौसममा उपभोक्ता थप मारमा परेका छन् । इन्धनको अभावमा खाना पकाउने समयमा झन् समस्या थपिने देखिन्छ । हालको तालिकामा पनि बिहान तथा बेलुकाको समयमा विद्युत् मिलाएर काट्ने व्यवस्था गरिएको भार पे्रषण केन्द्रले जनाएको छ । तर राजधानीलगायत सहरी क्षेत्रमा भने विद्युत्को अत्याधिक माग हुँदा ट्रान्सफर्मर जल्ने, कन्डक्टरमा समस्या आउने गरेको छ ।

नाकाबन्दीपछि मात्रै ५३० भन्दा बढी ट्रान्सफर्मर जलेका छन् । जलेका ट्रान्सफर्मर मर्मत गर्न जनशक्तिको अभावमा दैनिक दुईवटा मात्रै मर्मत हुने गरेको छ ।

प्रतिक्रिया