सीमाङ्कनको विषयमा कुनै हेरफेर हुँदैन: नेता खनाल

इनेप्लिज २०७२ पुष १० गते १२:५९ मा प्रकाशित

jhalanath-khanalइलाम, १० पुस । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले सीमाङ्कनको विषयमा झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर कुनै हालतमा नटुक्रिने बताउनुभएको छ ।

आज बिहान इलाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता खनालले मोर्चाले राखेको पाँच जिल्ला मधेस प्रदेशमा समावेश गर्नुपर्ने माग कुनै हालतमा स्वीकार्य नहुने बताउनुभयो । सबैकुरा उहाँहरूले भनेको मान्ने भन्ने कहाँ छ ? भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयो, “आफूहरूको मागमा उहाँहरू टसमस नहुने, अनि सरकार र राजनीतिक दलले उहाँहरूको माग मात्रै पूरा गर्ने यो कदापि मान्य हुँदैन ।”

सरकारले अघि सारेको तीनबुँदे प्रस्ताव नै मिलनबिन्दु भएकाले मोर्चालाई त्यसमा सकारात्मक हुन आग्रह गर्नुभयो । भारतले गरेको अघोषित नाकाबन्दी भारत आफैँलाई घाँडो भएको जनाउँदै सो नाकाबन्दी केही दिनभित्रै खुल्ने बताउनुभयो । आफूलाई चित्त नबुझेको कुरा प्रक्रियागत रूपमा राख्न र सीमामा बसेर अवरोध नगर्नसमेत उहाँले आग्रह गर्नुभयो । एक सातादेखि निर्वाचन क्षेत्रमा सञ्चालित विभिन्न विकास निर्माणको अवलोकनपछि उहाँ आजै राजधानी फर्कनुभएको छ ।

प्रतिक्रिया